मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक चैत १९ गते विश्वासको मत लिने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १६, २०८०

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललेले तेस्रो पटक चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

संघीय सरकारमा गठबन्धन परिवर्तन भए सँगै कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरे सँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले नयाँ गठबन्धन र हाम्रो नेपाली पार्टीको साथमा बहुमत पुर्याउँदै फेरि तेस्रो पटक विश्वासको मत लिने भएका हुन् ।

२०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका जम्कट्टेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि सरकार गठनको ६८ दिन पछि चैत ८ गते दोस्रो पटक फेरि विश्वासको मत लिएका थिए ।

११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एमाले) का २७, माओवादीका २१ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन् । त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३ र नेपाल मजदूर किसान पार्टीका तीन सांसद छन् । फाईल तस्वीर