लेख्दैन कोही किन ?

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन २९, २०८०

युद्धैैभो दश वर्षसम्म पहिले, लड्ने यिनै शानले
आफ्नो प्राण लगाई दाउ यिनले, त्यागे सबै मानले ।
तिम्रो अद्भुत शील्प कौशलकला देख्दैन कोही किन ?
ज्यानै आहुति दिन्छु भन्नेहरुको लेख्दैन कोही किन ।।

त्यत्रो युद्ध चल्यो गल्यो सकसले, आयो उज्यालो दिन
जो जो होमिए युद्धमा मकन खै, खल्लो भयो यै किन ।
सच्चा बीर बिरङ्गना मरे कति अझै, पीडा अपाङ्ग दीन
ज्यानै आहुति दिन्छु भन्नेहरुको लेख्दैन कोही किन ।।

आमा, बा, बहिनी र भाइ भतिजा, गुम्नेहरुले पनि
छोरा युद्ध परी मरी अभरले बाँच्नेहरुले पनि ।
मैलाई दुख भो भनेन किन हो, यस्तो कतै सुन्दिन
ज्यानै आहुति दिन्छु भन्नेहरुको लेख्दैन कोही किन ।।

आए युद्ध पछि म थेँ सगसँगै भन्नेहरुले सके
जो थ्यो युद्धसँगै जुधेर रहने, भन्नेहरुले सहे ।
शौदाबाज गरेर क्रान्ति रहला के शुद्ध भै कञ्चन ?
ज्यानै आहुति दिन्छु भन्नेहरुको लेख्दैन कोही किन ।।