काठमाडौं । राष्ट्रिय सभाको रिक्त पदमा आगामी माघ ११ गते निर्वाचन हुँदै छ । रिक्त हुने २० मध्ये १९ सिटका लागि हुने उक्त पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् । अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सोमबार बिहान १० देखि ३ बजेसम्मको समय तोकेको थियो । सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत र नेमकिपाका तर्फबाट ५२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
निर्वाचनको कार्यतालिका
- २४ पुस : उम्मेदवारविरुद्ध उजुरी
- २५ र २६ पुस : मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित
- २७ पुस : उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन
- २८ पुस : निर्वाचन चिह्न वितरण
- ११ माघ : मतदान
बागमतीमा चार सिटका लागि १६ जना प्रतिस्पर्धामा
बागमतीमा चार सिटका लागि १६ जनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धका तर्फबाट महिलामा कांग्रेसकी विष्णुकुमारी पुडासैनी र अन्यमा जितजंग बस्नेत, अपांगता/अल्पसंख्यकमा माओवादीका श्रीकृष्ण अधिकारी र दलितमा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गराए । एमालेबाट महिलामा रोचकुमारी चौलागाईं, अन्यमा त्रिलोचन निर्मल पौडेल, अपांगता/अल्पसंख्यकमा विवेक देवकोटा र दलितमा ध्रुवराज विश्वकर्माको उम्मेदवारी परेको छ । त्यस्तै, राप्रपाबाट अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकमा भरतमणि भट्ट र दलितमा पूर्णबहादुर विश्वकर्मा तथा नेमकिपाबाट महिलामा कृष्णलक्ष्मी दुवाल, अपांगता/अल्पसंख्यकमा हिमालयश्वर मुल, अन्यमा श्रीकृष्ण महर्जन र दलितमा संगीता नेपालीले उम्मेदवारी दिएका छन् ।