
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा मन्त्रीको गाडीमा आगो लगाईएको छ भने प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन गोली चलाउँदा चलाईएको र उक्त गोली लागेर घाईते भएका एक पुरुषको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।
प्रदर्शकारीको घेरा तोडेर भागेका थिए मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनको बारेमा मेसो नपाउँदा गाडी जल्नेसम्मको अप्रिय घटना भएको छ भने एक जनाको मृत्यु भयो । बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला आन्दोलनकारीले पुलमै गाडी रोकेर मन्त्री तथा पीएसओ र चालकलाई निकालेर आगो लगाएका थिए । गाडीसँगै मन्त्रालयका महत्वपूर्ण कागजात समेत जलेको मन्त्री ज्वालाले बताएका छन् ।
‘हामी बालकुमारीबाट सातदोबाटोतर्फ जान लागेका थियौं । ईपीएसवालाको लफडा चलिरहेको रहेछ । तर, हामीलाई थाहा थिएन । हाम्रो गाडीलाई बीचमा पारेर घेरा हालिसकेका थिए । उनीहरूले पहिले गाडीको हावा खुस्काए त्यस क्रममा धकेलाधकेल गर्न थाले । हामी त कसोकसो त्यसबाट उम्कियौं । तर, गाडीभित्रको ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । जसोतसो हामी उम्कियौं उनले भने ।