नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड भोलीदेखि

Avatar photo
Dhadingpost
बिहिबार, पुस ५, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोली (पुस ६ गते) देखि सुरु हुँदै छ । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको नीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

गत सालको जिल्ला विजेता समेत रहेको नीलकण्ठ नगरपालिका यो सालको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि आफै राख्न चाहान्छ त्यसका लागि यस प्रतियोगितामा राम्रा खेलाडी कोहि नछुटाउन प्रअहरुलाई शिक्षा शाखाले निर्देशन समेत गरेको छ । कक्षा १२ सम्म पढ्ने र १८ वर्ष ननाघेका विद्यार्थीहरुले भागलिन पाउने यस प्रतियोगिताका लागि नीलकण्ठ नगरपालिकाका निजी ५ र सामुदायीक २८ गरी ३३ माध्यामिक मध्य ३० वटा विद्यालयले भाग लिने भएका छन् ।

९२ वटा गोल्ड मेडल सँगै जिल्लाका लागि खेलाडी छनोट गर्न आयोजित नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार दिउँसो १ बजे नगर प्रमुख भिम ढुङगानाले उद्घाटन गर्ने कार्यक्रम रहेको शिक्षा युवा तथा खेलकुद शाखाका मेघनाथ कोईरालाले धादिङपोष्टलाई बताए । उद्घाटन पूर्व ११ बजे बाजागाजा सहित धादिङबेसी पुछारबजारबाट र्‍याली सुरुहुने बताईएको छ ।

गत वर्ष नलिकण्ठ नगरपालिकाले माघ १३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको थियो । २७ सरकारी र ५ निजी गरी ३२ माध्यामिक विद्यालय मध्य २१ वटा माविहरुले मात्रै भाग लिएका थिए । जसमा १७ स्वर्ण सहित नीलकण्ठ मावि प्रथम बन्यो भने बालमन्दिर ७ स्वर्ण, चन्डेश्वरी र एड्भान्स एकेडेमीले ५–५ स्वर्ण पदक जितेका थिए ।

गत वर्ष नीलकण्ठ नगरपालिकाबाट छनोट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता समेत जितेका थिए । फागुन २३ गते देखि २५ गते सम्म जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक जित्दै प्रथम भएको थियो । फाईल तस्वीर