आलु र प्याजको व्यापारमा हडताल

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं । सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीले आलु र प्याजको व्यापारमा हडताल गरेका छन् । सरकारले आन्तरिक कृषि उपजमा लगाएको भ्याट फिर्ता गरेको लिखित रूपमा पत्र प्राप्त नहुँदासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीको अडान छ ।

बजेटमा घोषणा हुँदा आयातित आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीको आरोप छ ।

देशैभरका व्यापारीले आलु र प्याजको कारोबार झन्डै तीन दिनदेखि रोकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो ।

आलु तथा प्याज आपूर्तिकर्ताको विरोधका कारण बजारमा यसका भाउ मनपरी भएको छ । बजारमा यी वस्तुको अभाव देखाउँदै व्यवसायीले मनलाग्दी रूपमा मूल्य लिने गरेका छन् । यही सोमबारसम्म प्रतिढक (पाँच केजी) २२० रुपियाँ रहेको आलु अहिले बढेर चार सय रुपियाँ पु¥याइएको छ ।