विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आज नेपाल र ओमान भिड्दै

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । विश्वकप टी-२० एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि सिंगापुर र मलेसियालाई पराजित गरेको नेपालले आज समुह विजेताका लागि बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानसँग खेल्न लागेको हो ।

समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको आजको खेलले समूह विजेता को बन्ने भन्ने निर्धारण गर्नेछ । समूह विजेताले समूह बी को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ ।

समूह ए को अन्तिम खेलमा सिंगापुर र मलेसियाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । तर मुलपानीमा आज हुने दुबै खेल निकै महत्वपूर्ण हुनेछन् । पहिलो खेलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । बहराइनसँग हारेको हङकङलाई सेमिफाइनल खेल्न युएईलाई हराउनु पर्ने हुन्छ । उता सुरुवाती दुई खेल जितेको युएईलाई जित वा झिनो अन्तरको हार सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।

दोस्रो खेलमा बहराइन र कुवेत भिड्नेछन् । पहिलो खेलमा हङकङ पराजित भएमा बहराइनलाई जित पर्याप्त हुनेछ । तर हङकङ विजयी भएको खण्डमा बहराइनले नेटरनरेटमा ध्यान दिनुपर्छ । कुवेत सेमिफाइनलमा पुग्न आफ्नो विशाल जितसँगै पहिलो खेलमा युएई विजयी भएको हुनुपर्छ ।