कुरै कुरा…

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १४, २०८०

सुनको चुरोटका कुरा
सुनको ब्रेक सुका कुरा
नक्कली सरणार्थीक कुरा
ललिता निवासका कुरा
अपराध उन्मुक्तीका कुरा
कुरै कुरा
सरकारको उपलब्धीका कुरा

कतै बाबू छोराका कुरा
कतै देवर भाउजूका कुरा
कतै मामा भन्जाका कुरा
कतै ज्वाइँ ससुराका कुरा
कतै काका भतिजका कुरा
कतै नजिकको नातेदारका कुरा
यी सबै कुरै कुरा
सरकारको पोषिलो
छत्र छाया भित्रका कुरा

कतै जातका कुरा
कतै धर्मका कुरा
कतै आयातित
अघोरी हुंकारका कुरा
कतै गाईका कुरा
कतै गोरुका कुरा,
कतै मन्दिरका कुरा
कतै चर्चका कुरा
कतै मस्जिदका कुरा
कतै गुम्बाका कुरा
कुरै कुरा….

कुरै कुरामा सबै भाडियो
नियम कानुन माटोमा गाडियो।
एकले अर्कोलाई खुईल्याए
अर्कोले एकलाई खुईल्याए
देखाई देखाई
सबै मिलि
यो देशलाई खुईल्याए
यो देश
मुट्ठीभरको कब्जामा गयो
अब अति होईन अत्याचार भयो

त्यसैले
आगो त बाल्नै पर्छ
डढेलोले गाल्नै पर्छ
सरकारी सम्पत्तिमा होईन
खराब
राजनितिक चेतना बिरुद्ध
खराब
राजनितिक पात्र प्रवृत्ति बिरुद्द
सिंह दरबार त बिम्ब हो
जलाउनु पर्ने त्यहाँ भित्रका
अर्धचेत
मन र मस्तिष्क हो…..