धादिङ । ख्रीष्टियन कार्यक्रम उद्घाटन तथा झार्लाङको इसाई इतिहास समेटिएको पुस्तक विमोचन गर्न खनियाबास गाउँपालिका १ झार्लाङ जोङ खेल मैदान पुगेका बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले धादिङबेसी तिप्लिङ सडक प्रदेश सरकारले कालो पत्रे गर्ने बताएका छन् ।
क्रिश्चियनहरुको झार्लाङ सु समचारीय प्रारम्भ ४५ औं वार्षिक उत्सव तथा पुस्तक विमोचनमा कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले उक्त कुरा बताएका हुन् । हामी जनताको काम गर्न राजनीतिमा लागेका हौं । जनताका आधारभुत समस्यामा स्थानीय सरकार जिम्मेवार बन्नु पर्छ भने जनसरोकारका मध्यम र ठुला योजनाहरु प्रदेश र केन्द्र सरकार मिलेर पुरा गरिने उनले बताए ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सांसद डम्बरबहादुर तामाङ, माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, पालिका अध्यक्षहरु रणबहादुर तामाङ, रामसिंह तामाङ, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका महासचिव पास्टर सिमन पाण्डे, पालिका उपाध्यक्ष सेक्केमान तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
झार्लाङ इसाई इतिहास स्मारिका समुहको आयोजना तथा सुद्धिकरण समुहको सह आयोजनामा भएको उक्त कार्यक्रममा झार्लाङमा रहेका सबै पास्टरहरुलाई सम्मान गरिएको पेरेम तामाङले धादिङपोष्टलाई बताए ।