धादिङकी रञ्जिताको कविता टप २० मा (कविता समेत)

Avatar photo
Dhadingpost
शनिबार, अशोज २७, २०८०

धादिङ । प्रदेश युवा परिषद बागमती प्रदेशले आयोजना गरेको खुल्ला कविता वाचन प्रतिगोगितामा धादिङबाट रञ्जिता अधिकारीको कविता १५३ मध्ये टप २० भित्र पर्न सफल रह्यो ।

त्रिपुरासुन्दरी गाउँपालिका निवासी रञ्जिताको टप २० भित्र पर्न सफल कविता

मध्यपूर्वको अन्तिम सीमानाबाट
हरेक साँझ म सुदूरपूर्व हेर्छु
नियाल्छु – कतै त अवस्य छ, मेरो माटोको सिमाना ।

छोइन्छु – सगरमाथाको चिसो हरकले
तर छैन पस्मिनाको पछ्यौरा
म आँसुकै ओछ्यानमा पसिना ओढेर निदाउँछु
ए देश
परदेशमा तिम्री छोरी थाकेकी छे ।

बालुवामा धसिदै गैरहेको बेला
म सम्झिन्छु – डोकोमा जुन बोकेर
मैले उक्लिने भञ्ज्याङ्ग र देउरालीहरु
गगनचुम्ने टावरमा चढिरहेको बेला
म सम्झिन्छु– लेकको बुकी सिउँरिएर
मैले झर्ने बेसीका हरिया फाँटहरु ।

यो मेरो
पात बजाएर भाका लाउने उमेर हो,
तर सिउँडीको काँडामा आयु उनिरहेछु

बर र घर खोज्ने बाआमालाई
उभ्याएर चौतारामा परदेश खोजेँ मैले
पठाए खबरहरु,
तर खुशी पठाउन सकिनँ
पठाए पैसा,
तर प्रेम पठाउन सकिनँ ।

यतै देख्छु देउडा खेल्ने कर्णाली
हुड्के नाँच्ने महाकाली
सारङ्गीका कर्खाहरु यतै रुन्छन्
भेटिन्छन् कौडा नाँच्ने वैशालुहरु यतै

थाहा छैन
कस्ले खुवाइरहेछ देशलाई मनतातो पानी ।

ए प्रीय देश, सन्देश छ एउटा
परदेशमा तिम्री छोरी थाकेकी छे, हारेकी छैन
अब कहिल्यै नहार्ने भएर फर्किनेछु ।

  • रञ्जिता अधिकारी