धादिङका रविनद्वारा एनआरएनएको युवा संयोजकमा उम्मेदवारी घोषणा

Avatar photo
गोविन्द बुढाथोकी
आइतवार, अशोज २१, २०८०

धादिङ । युवा समाज सेवीका रुपमा चिनिएका धादिङ जन्मभूमि भई पोर्चुगल बस्दै आएका रविन अधिकारीले गैरआवासीय नेपाली संघको आइसिसी २०२३-२५ का लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य २०११-१३०, पोर्चुगलको युवा संयोजक २०१७-१९०, आइसिसी सदस्य २०१९-२१ हुँदै केही महिना अघिसम्म गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष २०२१-२३ को रूपमा काम गरिसकेका रविनले आइसिसी युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विश्वभर रहेका गैरआवासीय नेपालीहरु बीच समाजसेवी युवाका रुपमा परिचित रविन अधिकारीले युवा संयोजक पदको दावी गरे सँगै सर्वसम्मत बनाउने गृहकार्य समेत भएको बताइन्छ । उम्मेदवारी घोषणा सँगै उनले ७ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् ।

केन्द्रीय युवा संयोजक पदका उम्मेदवार रविन अधिकारीद्वारा जारी प्रतिवद्धता
१. “सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता” भन्ने मुल भावनाका साथ संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउनेछु ।
२. प्रवासमा रहेका युवाहरुलाइ फुटबल, भलिबल, क्रीकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाइ प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना ल्याइ कार्यान्वयन गर्नेछु ।
३. विदेश आएका कतिपय नेपाली युवाहरु आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन् । उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।
४. रोजगारका लागी विदेश जान चाहने युवाहरुलाई नेपालमै रोजगारमूलक तालिम सन्चालन गरी जाने सम्बन्धित देशका NRNA NCC हरु संगको समन्वयमा दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने र त्यसको सुपरिवेक्षण गर्ने।
५. आइसिसी र एनसिसी बीचका युवाहरुलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरुलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु र एनसिसीका युवाहरुको भावनालाई आइसिसीसम्म पुर्याउन प्रयत्न गर्नेछु ।
६. विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछु ।
७. “नेपालीका लागि नेपाली” र “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।