बेनीघाट रोराङको कार्यालय परिसरमा कर्मचारीको आन्दोलन

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १९, २०८०

धादिङ । संघीय निजामती विधेयकमा आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै शुक्रबारदेखि स्थानीय तहका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा रोकेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा कार्यरत कर्मचारीहरुले कालो ब्यानर बोकेर पालिका परिसरमा विरोध जनाएका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका संयोजक दीपक गौतम सबै स्थानीय तहमा कर्मचारीले ‘पेन डाउन’ गरेको र अत्यावश्यकबाहेकका सेवा ठप्प बनाएको बताए ।

स्थानीय तहमा पनि ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तर तह सरुवा लागु हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिनुपर्ने, स्थानीय तहमा कर्मचारी कल्याण कोष अनिवार्य गर्नुपर्ने लगायतका माग स्थानीय तहका कर्मचारीको छ ।

स्थायी र करारका कर्मचरीको उचित व्यवस्थापन गर्ने समेत संघर्ष समितिको माग छ । सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग उनीहरुको छ ।

देशभरका स्थानीय तहमा करिब ६३ हजार कर्मचारको दरबन्दी छ । तर, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नभएकाले कति कर्मचारी आन्दोलनमा छन् भन्ने स्पष्ट छैन ।