एनआरएनएको सचिवमा धादिङका प्रकाश सापकोटाको उम्मेदवारी घोषणा

Avatar photo
गोविन्द बुढाथोकी
बुधबार, अशोज १०, २०८०

धादिङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२३-२५ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा चल्ने ११ औं महाधिवेशनमा एनआरएनए अमेरिका क्षत्रेका क्षेत्रीय संयोजक समेत रहेका प्रकाश सापकोटाले ‘संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन सचिव पदका लागि उम्मेदवारी दिन लागेको धादिङपोष्टलाई बताए । संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको छ, एनआरएनए अझै गैरआवासीय नेपालीहरुको साझा बन्न नसकेको प्रश्न उठिरहेको छ अब धेरै कुरा परिवर्तन गर्नुछ तसर्थ आफु सचिव पदमा उम्मेदवारी दिन लागेको उनले बताए ।

अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका सापकोटा आइटी, एकाउन्निङ्ग एन्ड फाइनाल्सियल र रिटेलमा क्षेत्रमा सक्रिय छन् । नेपालमा रहँदा उनी पर्यटन व्यवसायमा सक्रिय थिए। सन् २०११ देखि एनआरएनए अभियानमा निरन्तर लागेका सापकोटा २०१५ मा एनसीसी अमेरिकाको सह कोषाध्यक्ष निर्वाचित भएका सापकोटा सन् २०१७ मा पहिलो पटक आइसीसी सदस्य निर्वाचित बनेका थिए भने २०१९ मा आइसीसीको मानार्थ सदस्य भएका थिए।

धादिङ घर भई बेल्जियम बस्दै आएका लोकप्रसाद दाहाल र युएई बस्दै आएका मनोज गोर्खालीले समेत सचिव पदमा उम्मदवारी घोषणा गरेका छन् । एनआरएनएको विधान अनुसार सचिव पदमा ६ जना निर्वाचित हुने व्यवस्था छ ।

यस्तै धादिङका रामशरण सिंखडाले उपाध्यक्ष पदमा, यूएई बस्दै आएका नीलकण्ठ नगरपालिकाका ठाकुरप्रसाद ढुंगानाले कोषाध्यक्षमा, पोर्तुगलको पुर्व एनआरएनए अध्यक्ष नीलकण्ठ नगरपालिकाका रविन अधिकारीले यूवा संयोजक पद उम्मेदवारीको घोषणा गरेका छन् ।