आज चेपाङहरुको छोनाम अर्थात न्वागी पर्व

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २२, २०८०

धादिङ । चेपाङ समुदायले आज न्वागी (छोनाम) पर्व विविध कार्यक्रमका साथ मनाउँदै छन् । चेपाङ समुदायको ठूलो पर्वका रूपमा लिइने न्वागी पर्व मनाउनका लागि धादिङ, चितवन र मकवानपुरमा बागमती प्रदेश सरकारले आज सावर्जनिक विदा समेत दिएकाे छ ।

चेपाङ समुदायमा नयाँ अन्न भित्रिएकाले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गरी नयाँ अन्न र फलफूलहरू चढाएर मात्रै आफूले खाने चलन छ । पितृलाई नचढाई खाएमा रोगव्याधि लाग्छ भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । सो दिन उनीहरूले कुखुराको बलिसमेत दिने गर्छन् ।

न्वागीका दिन चेपाङ झाँक्री पान्देहरूले रातभर ढ्याङ्ग्रो ठोकेर पितृ खुसी पार्ने गर्छन् । यो दिन छोरीचेलीले ल्याएको कोसेली सगुन खाई सांस्कृतिक नाच र गीत प्रस्तुत गर्ने गर्दछन् । रातभर दोहोरी गाउने केटाकेटी चिनजान गर्ने र मन मिले सोही रात भगाएर विवाह गर्ने प्रचलन समेत रहँदै आएको तिलक चेपाङले धादिङपाेष्टलाई बताए ।

आज धादिङको च्याङली ( गजुरी गा पा ५) मा नेपाल चेपाङ संघ केन्द्रिय समितिको आयोजनामा सामुहिक छोनाम मनाईदैछ। उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल समेत सहभागी हुने कार्यक्रम रहेको बताईएको छ ।