सिद्धलेकको पञ्चमुखी मावि र वडा कार्यालमा विद्यार्थीद्वारा तालाबन्दी

Avatar photo
Dhadingpost
सोमवार, भदौ १८, २०८०

धादिङ । विद्यालयको गणित शिक्षक गाउँपालिकाले अन्तै सरुवा गरेको र अर्को शिक्षक नपठाएको भन्दै सिद्धलेक गाउँपालिका वडा नम्बर ३ मैदानमा रहेको पञ्चमुखी माविका विद्यार्थीले विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

तीन साता अघि गणित विषयको पठनपाठन नै ठप्प हुनेगरि नि.मा.शि.राहत दरबन्दिको गणित शिक्षक सरुवा तथा पदस्थापना गरेको र अर्को शिक्षक नपठाएको भन्दै विद्यार्थीले तालाबन्धी गर्दा पठनपाठन प्रभावित भएको हो, भने वडा कार्यालयको काम समेत प्रभावित बनेको छ ।

विद्यार्थी तथा अभिभावकले भदौ १२ गते वडा कार्यालय बन्द गराएका गराएका छन् । वडा कार्यालय र विद्यालय दुबै तालाबन्धी भएपछि गाउँपालिकाले शनिबार आन्दोलनरत पक्षलाई पालिकामा बोलाई गणित शिक्षक तत्काल पठाउने बताए पनि शिक्षक नपाठाएकोले विद्यालय र वडामा लगाईएको ताला खुल्न नसकेको बताईएको छ ।

यस विषयमा जानकारी लिन गाउँपालिकाको शिक्षा अधिकृत मेनुका बास्कोटालाई पटक पटक फोन गर्दा पनि फोन रिसिभ भएन उठेन ।