माओवादी खनीयाबासद्वारा ल्याक्चे कुण्डमा पौडी प्रतियोगिता गरी अभियान उद्घाटन

Avatar photo
Dhadingpost
शनिबार, भदौ १६, २०८०

धादिङ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ नेकपा माओवादी केन्द्र खनियाबास ३ ले ऎतिहासिक, पर्यटकिय सम्भावना बोकेको ल्याक्चे कुण्डमा पौडी प्रतियोगिताको आयोजना गरि उद्घाटन गरेको छ ।

पौडी प्रतियोगिता समीर तामाङ प्रथम, सौगात तामाङ दोस्रो र रमेश तामाङ तृतीय भएका थिए । अभियान संयोजक परेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मोईचालामाको अध्यक्षता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पेरेम तामाङले ‘सुन चौर’ अर्थात् कुरी गाउँमा रहेको यस कुण्ड ऐतिहासिक छ तर पनि प्रचार प्रसारको अभावमा ओझेल परेकोले प्रचार प्रसारमा ल्याउ यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

किन ऐतिहासिक छ, ल्याक्चे कुण्ड, बारे संचारकर्मी राजु झल्लु प्रसादको खोज
यस ऐतिहासिक पोखरी (ल्याक्चे कुण्ड) संसारको सृष्टि भए देखि नै अवस्थित रहेको अनुमान स्थानीयवासीको छ । निकै अघि पोखरी धेरै गहिरो रहेको र एक्कासी पोखरी भन्दा माथिबाट पहिरो आएकाले कुण्ड धेरै हदसम्म पुरिएको किम्बदन्ती छ । क्याफे मालिक तामाङको भने कुण्डलाई लिएर केही फरक कथन पेश गरे । उनका अनुसार, लाक्चे (लक्चे) भन्ने एउटा फल हुन्छ, जो लहरामा फल्छ । यसलाई ‘लहराना’ पनि भनिन्छ । सोही फलको नामबाट कुण्डको नामकरण गरिएको हुनुपर्ने उनको मत छ ।

यस कुण्डमा ठुलो एकादशीमा मेला लाग्छ । मेलामा बोन धर्मावलम्बीहरू (स्थानीय भाषामा झाँक्री) अर्थली, कुरी एवम् झार्लाङदेखि आउने गर्छन् । कुण्डमा विभिन्न किसिमका चराचुरुङ्गीहरू आइ पानी माथि खेलिरहेको देखिन्छ, तर पछिल्ला वर्षहरूमा पानी सुक्दै जाँदा चराहरू आउने क्रम घट्दो क्रममा रहेको तामाङ बताउँछन् । “ल्याक्चे स्कुल भएको ठाउँमा पहिले अर्को दह थियो, स्कुल बनाउदा सो दह पुरियो । त्यसको मूल सम्भवतः अर्कैपट्टि लाग्यो । पछी पहिरो आयो । लेते पनि आयो । र, ल्याक्चे कुण्ड पनि सिमेटिदै गयो”, उनी भन्छन् ।

जाडोयाममा पनि कुण्डमा तातो पानी
कुण्ड कार्तिकसम्म पानी टलपल टलपल भरिएको हुन्छ । स्थानीयवासीहरू त्यतिबेला यही कुण्डमा नुहाइधुवाई गर्ने गर्छन् । कुण्डदेखि थोरै माथि पानीको मुहान छ, जो जाडो याममा तातो हुने गर्दछ । ल्याक्चे कुण्डमा हिउँ पनि पर्दछ, तर, पछिल्लो समय हिउँ पर्ने सिलसिला कम हुँदै गएको छ । अघिल्लो साल परेको हिउँ ३/४ दिनसम्म बसेको थियो ।

ल्याक्चे कुण्ड संरक्षण समूहले हरेक वर्ष साउने संक्रान्तिको भोलिपल्ट अर्थात् साउन २ गते पौडी प्रतियोगिता समेत आयोजना गर्दै आइरहेको छ । यस प्रतियोगिताको दिन स्थानीय एवम् आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहने गर्दछ । सुन्दर कुरी गाउँलाई अझ थप सुन्दरता बनाइदिने यस ऐतिहासिक पोखरीको संरक्षणमा स्थानीय सरकार लागिरहँदा यसको प्रचार-प्रसारमा अझ ध्यान दिन सके बेसै हुने देखिन्छ ।