धादिङमा कार्यरत प्रशिक्षक तुलाधर सहित राखेपका ३१८ जना बढुवा

Avatar photo
Dhadingpost
बुधबार, भदौ १३, २०८०

धादिङ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का विभिन्न तहका ३१८ कर्मचारीको एकसाथ बढुवा हुँदा जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख रमेशमान तुलाधर पनि बढुवाका परेका छन् ।

काठमाडौं २२ चेवहाल निवासी रमेशमान तुलाधर २०५४ सालमा राखेपबाट तेक्वान्दोको खेल प्रशिक्षक नियुक्ति लिएर धादिङ आएका थिए । उनी त्यसयता धादिङमा कार्यरत छन् । धादिङमा तेक्वान्दो प्रशिक्षक अर्थात राखेपको कर्मचारी भएर जागिर खाएको २६ वर्ष पछि बढुवाको सूचीमा परें ढिलै भए पनि बढुवामा परें खुसी छु उनले धादिङपोष्टलाई बताए ।

राखेपको भदौ १० गते बसेको पदपूर्ति समितिको बैठकले सहायकदेखि अधिकृतसम्मका पदमा कार्यरत कर्मचारीको पदोन्नति गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्, कर्मचारी सेवा सर्तसम्बन्धी नियमावली, २०६८ को परिच्छेद ६ को नियम ५६ को उपनियम (१) र (१क) बमोजिम कार्यसम्पादन तथा अनुभवको मूल्यांकनका आधारमा ती कर्मचारीको बढुवा गरिएको राखेपले जनाएको छ ।