काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ ।
नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्दैछ । बाबर आजम र शाहिन शाह अफ्रिदी जस्ता विश्वका उत्कृष्ट ब्याटर र बलर भएको पाकिस्तानविरुद्ध नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।
एसिया कपको उद्घाटन खेल अघि पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहित पौडेलले प्रतियोगितामा पाकिस्तान र भारतलाई प्रतिस्पर्धात्मक चुनौती पेश गर्ने बताएका छन् ।
अनुभवको कमी नेपाललाई केहि घातक बन्नसक्छ । तर मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि एकै टोलीलाई निरन्तर खेलाउँदै आएका छन् । जुन नेपालको शक्ति बन्नसक्छ । नेपालका कप्तान रोहितले एक बल युद्धमा ध्यान दिने र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् ।
पाकिस्तानले नेपालसँग खेल्ने आफ्नो प्लेइङ ११ प्रमुख खेलाडीलाई मैदान उतार्ने भएको छ । ओपनर फखार जमान र इमाम उल हक छन् । जमान नेपाललाई घातक बन्न सक्ने ब्याटर हुन् । २०१८ मा जिम्बावेविरुद्ध ओडिआईमा दोहोरो शतक हानेका उनी टिकेपछि ठूलो इनिङ खेल्ने गर्दछन् ।
बाबर आजम र मोहम्मद रिजवान पाकिस्तानका प्रमुख ब्याटर हुन् । विश्व ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको विकेट हरेक नेपालीको लागि ड्रिम हुनेछ । वर्तमान विश्व क्रिकेटका बादशाह बाबरलाई आउट गर्नु नेपाली बलरलाई सामान्य उपलब्धी हुनेछैन ।