काठमाडौं । कूल पुरस्कार राशि एक लाख ५० हजार डलर (करिब दुई करोड रुपैयाँ ) रहेको पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३ आजदेखि सुरु हुँदैछ ।
लिग चरणको खेल २४ देखि २७ अगस्टसम्म र फाइनल अगस्ट ३१ देखि सेप्टेम्बर ३ सम्म चल्नेछ । यस प्रतियोगितामा नेपालका ५ टिम समेत सहभागी हुने छन् । कुल पुरस्कार मध्य विजेताले करिब २६ हजार डलर (करिब ३४ लाख २२ हजार रुपैयाँ) हात पार्नेछ ।
कूल २० टोली सहभागी यो प्रतियोगितामा नेपालका ‘रअ ई-स्पोर्ट्स’, ‘टीटूके ई-स्पोर्ट्स’, ‘लियो ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’, मङ्गोलियाबाट ६ टिम, बङ्गलादेशबाट एक र पाकिस्तानबाट आठ टिम रहने छन् ।
प्रतियोगितामा शीर्ष चारभित्र रहने टिमले पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएसजीसी) २०२३’ का लागि छनोट हुने छन् । खेल आज बेलुका ५:४५ देखि ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’ को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।