अल विदा: डा. राजाराम कार्की, आज अन्तिम दाह-संस्कार गरिँदै

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ७, २०८०

धादिङ । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा महासमिति सदस्य एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको अन्तिम दाह-संस्कार आज गरिदै छ ।

निष्ठा,इमानदारीता र सत्यका पर्याय, जिवनभर निस्वार्थ भावले समाजसेवामा समर्पित सबैका प्रिय व्यक्तित्व डा. राजाराम कार्कीको भदौ ६ गते बुधबार बुधबार बिहान उपचारका क्रममा वीर अस्पताल, काठमाडौंमा असामयिक निधन भएको थियो ।

डा. राजाराम कार्कीको राजनीतिक यात्रा
उहाँले नेपाली कांग्रेसको केन्द्रीय सदस्य(२०५९), नेपाली कांग्रेसको नवौं महाधिवेशनदेखि हालसम्म लगातार महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि, नेपाल तरुण दलको केन्द्रीय महासचिव(२०५५); नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङको सचिव(२०५३); स्वतन्त्र विद्यार्थी युनियन, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसको सभापति (२०४३) लगायतको जिम्मेवारी वहन गर्नुभएको थियो । उहाँ वि.सं. २०७४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा निर्वाचित हुनुभएको थियोे । वि. सं. २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा धादिङ जिल्लाको तत्कालीन क्षेत्र नं. ३ मा उहाँ नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । उहाँका पिता, माता, २ श्रीमती, ४ छोरा र १ छोरी हुनुहुन्छ ।