काठमाडौं । पब्जीको दक्षिण एसियाली क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ मा नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’ तेस्रो हुँदै नेपाली ७ लाख ३० हजार जितेको छ ।
प्रतियोगितमामा मङ्गोलियन पब्जी टिम फोमिराकल भाइब्स प्रथम हुँदै १२ लाख जित्न सफल बन्यो । फाइनलमा सबै भन्दा धेरै किल गरेका नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’का (आकाश सतङ राई) ‘मस्ट भ्यालुएबल प्लेयर’ बन्दै एक हजार अमेरिकी डलर (करिब एक लाख ३३ हजार रुपैयाँ) जित्न सफल भए ।
यस प्रतियोगिताबाट पाँच नेपाली टिम ‘रअ ई-स्पोर्ट्स’, ‘टीटूके ई-स्पोर्ट्स’, ‘लियो ई-स्पोर्ट्स’, ‘डीआरएस गेमिङ’ र ‘स्काइलाइट गेमिङ’ले अगस्ट २४ देखि ३ सेप्टेम्बर सम्म चल्ने पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।
‘पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल २०२३’ मा शीर्ष चारभित्र रहने टिमले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२३ मा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।