धादिङ । माओवादी केन्द्र धादिङको विस्तारित बैठक सकिएको छ । भदौ ८ गते प्रदेश इन्चार्ज जनार्दन शर्माको उपस्थितिमा जिल्ला समन्वय समितिको बैठक हुने भएकोले तयारीका लागि आज विस्तारित बैठक बसेको जिल्ला सचिव दिपक लामिछाने (सुबोध) ले बताए ।
सचिव लामिछानेका अनुसार आजको विस्तारित बैठकमा जिल्लाका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टे, केन्द्रिय सदस्यद्वय अप्सरा सिंखडा (दिपा) र रामबहादुर भण्डारी, जिल्लाका सचिवालय सदस्यहरु देखि पालिकाका इन्चार्ज र अध्यक्षहरुको सहभागिता थियो ।
बैठकमा इन्चार्ज शालिकराम जम्कट्लले पार्टी केन्द्रले निर्धारण गरेको ३ महिने अभियानलाई जिल्लामा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने खाका प्रस्तुत गरेका थिए । आजको विस्तारित वैठकले गरेका निर्णयहरु भदौ ८ गते बस्ने जिल्ला समन्वय समितिको वैठकले अनुमोदन गरेपछि कार्यविभाजन सहित अभियानको पूर्ण तयारी सकिने सचिव लामिछानेले बताए ।