काठमाडौं । असारको अन्तिम साता नेपाली पब्जी टिम ‘डीआरएस गेमिङ’ले ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ खेलेर करिब दुई करोड २० लाख नेपाली रुपैयाँ जित्न सफल भएको थियो ।डीआरएसले उक्त पुरस्कार प्रथम भएर हैन तृतिय हुँदा प्राप्त गरेको थियो ।
अहिले ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ जारी छ । यो प्रतियोगिताको पुरस्कार राशी पनि १ करोडको छ । यस प्रतियोगिताको फाईनलमा १६ टिम पुग्दा नेपालबाट सात टिम फाइनल पुगेका छन् । तीन साताको लिग चरणको खेलपछि नौ नेपाली टिममध्ये सात टिमले अङ्क तालिकाको शीर्ष १६ भित्र पर्दै फाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेका हुन् ।
- पीएमपीएलको फाईनल पुग्ने नेपाली सात पब्जी टिम
- स्काइलाइट गेमिङ
- रअ ई-स्पोर्ट्स
- टीटूके ई-स्पोर्ट्स
- डीआरएस गेमिङ
- लियो ई-स्पोर्ट्स
- डेडआइज गाइज
- वि वन इलुमिनेट
तीन साता सम्म चलेको लिग चरणमा साउथ एशियाका स्तरीय पीएमपीएलमा नेपाली ९ टिम सहित २० टिम सहभागी थिए जसमा नेपाली सात टिम सहित १६ टिम फाईनल पुगेका हन् । लिग चरणको अङ्क तालिकाको पहिलो र दोस्रो स्थानमा मङ्गोलियन टिम क्रमशस् स्टलवार्ट ई-स्पोर्ट्स र फोमिराकल भाइब्स रहेका छन् । स्टलवार्ट ई-स्पोर्ट्सको ५१६ र फोमिराकल भाइब्सको ४९१ पोइन्ट रहेको छ । तेस्रो स्थानमा ४३८ पोइन्ट सहित नेपाली टिम स्काइलाइट गेमिङ रहेको छ । चौंथो स्थानमा रहेको रअ ई-स्पोर्ट्सको ४२३ पोइन्ट रहेको छ ।
अन्य नेपाली टिममा पाँचौ स्थानमा टीटूके ई-स्पोर्ट्स, नवौँ स्थानमा डीआरएस गेमिङ र १२औँ स्थानमा लियो ई-स्पोर्ट्स रहेका छन् । डेडआइज गाइज र वि वन इलुमिनेट क्रमश: १४ औँ र १६ औँ स्थानमा रहेका छन् । यो प्रतियोगिताको फाइनल १८ अगस्टदेखि २० अगस्टसम्म चल्नेछ । प्रतियोगिताको विजेता टिमले ९५०० डलर (करिब १२ लाख ४७ हजार रुपैयाँ) हात पार्ने छ ।