शिक्षाको अधिकार स्थानीय तहको एकल अधिकार सूचीमा राख्न नहुने शिक्षकको माग
धादिङ । प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आईतबार नेपाल शिक्षक महासंघ धादिङले केन्द्रिय कार्यक्रम अनुसार जिल्लाका सबै पालिकामा धर्ना दिएको छ ।
शिक्षक महासंघले माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको छ । विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था गरिएको छ । महासंघले त्यसको विरोध गरेको हो ।
स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग विधेयकले सम्बोधन नगरेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
सरकारले विधेयक सच्याएर माग पूरा नगरे अनिश्चितकालिन विद्यालय बन्दको कार्यक्रमसमेत घोषणा गरिने एकीकृत अखिल नेपाल शिक्षक संगठन धादिङका अध्यक्ष तिलक चेपाङले बताए । माग पुरा नभए आन्दोलका कार्यक्रमलाई कडा पारिने समेत उनले बताए ।
धादिङमा महासंघ गठन नभएकोले कुन पालिकामा कुन पेशागत शिक्षक संगठन बलियो छ, त्यहि संगठनको अगुवाईमा धर्ना भएको छ, नीलकण्ठ नगरपालिकामा शिक्षक संघ बलियो भएका कारण शिक्षक संघको अगुवाईमा धर्ना भएको शिक्षक संघका नेता शिवहरि अधिकारीले धादिङपोष्टलाई बताए ।