धादिङ अस्पतालमा तेब्बरले बढे विमा मार्फत सेवा लिनेहरु

Avatar photo
Dhadingpost
शनिबार, साउन १३, २०८०

धादिङ । प्रादेशिक धादिङ अस्पतालबाट २०७९/०८० मा विमा मार्फत २१ हजार ६९६ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य विमा गरी धादिङ अस्पतालबाट सेवा लिनेको यो संख्या ०७८/७९ भन्दा तेब्बर भन्दा बढी हो ।

धादिङ अस्पतालबाट ०७८/७९ मा ७ हजार ३७९ जनाले मात्रै स्वास्थ्य विमा मार्फत सेवा लिएका थिए । ०७८÷७९ मा स्वास्थ्य बीमा कार्यक्रमबाट धादिङ अस्पतालले ६२ लाख ४० हजार १७३ भुक्तानी पाएको थियो भने गत आर्थिक वर्षमा स्वास्थ बीमा बोर्डबाट धादिङ अस्पतालले २ करोड ४० लाख १२ हजार ९२५ भुक्तानी पाएको छ ।

स्वास्थ्य विमा गर्ने सेवाग्रहीहरुको संख्य बृद्धि भएको छ खुसीको कुरा हो तर हरेक नागरिकले अझै स्वास्थ्य विमा गराउन सकि रहेका छैनन् र स्वास्थ्य विमा गरेका सेवाग्राहीहरुले सेवा कसरी लिने र सेवा भित्र के के पर्दछन् भन्ने अझै नबुझेको धादिङ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) रुद्रमणि भण्डारी बताउँ छन् । हामीले विमा मार्फत सेवा लिन आउने सेवाग्राहीलाई कार्ड अनिवार्य साथ लिएर आउनु पर्छ भनेका छौं तर कतिपयले मोवाईलमा फोटो खिचेर ल्याउने, विमा कार्यक्रममा नपरेका सेवा समेत दिनुपर्छ भन्ने दवाव समेत झेल्नु परेको उनी बताउँछन् ।

स्वास्थ्य बीमामा कसरी संलग्न हुनेः
प्रत्येक वडामा रहेका दर्ता सहयोगी मार्फत यस कार्यक्रममा आवद्ध हुन सकिन्छ । बीमित हुन चाहने परिवारले हाफ्नो घरमुली तथा अन्य सदस्यहरुका लागि नागरिकता वा नेपाल सरकारबाट जारी वैधानीक परिचय पत्र अनिवार्य रुपमा देखाई परिवारका सबै सदस्यहरुको आवश्यक फाराम भरि दर्ता सहयोगीले मोबाइलबाट फोटो खिचेर मात्र आबद्ध हुन सकिन्छ ।

स्वास्थ्य बीमामा आवद्ध हुन लाग्ने रकम :
स्वास्थ बीमाको आबद्ध हुनका लागि ५ जनासम्मको परिवारलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क लाग्दछ । ५ जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रति सदस्यका लागि ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अति गरिब, अति अशक्त, अपाङगता भएका व्यक्ति एवं कुष्ठरोगी, एमडीआर, टिभि र एचआइभि संक्रमित बिरामी भएका घर परिवारलाई योगदान रकममा पुर्ण छुटको व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमामा आवद्ध भएपछि पाइने सुविधा:
५ जना परिवारलाई बोर्डले स्वास्थ्य उपचारका लागि वार्षिक १ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । ५ जनाभन्दा बढी प्रति थप सदस्य वापत सुविधाको थैलीमा २० हजार बढ्दै जान्छ । र परिवार संख्या अनुसार बढीमा २ लाखसम्मको स्वास्थ्य उपचार पाईन्छ । जेष्ठ नागरिकले वार्षिक १ लाख सम्मको उपचार सुविधा पाउँछन् । स्वास्थ्य बीमामा सुविधा लिन हरेक वर्ष अनिवार्य रुपमा नविकरण गर्नुपर्नेछ ।

विमा भुक्तानी नपाइने अवस्था:
पहिलो कुरा त बीमालेखले नसमेटेको कुरामा बीमाको दाबी भुक्तानी पाइदैन । यस्तै, डाक्टरले नलेखेको भिटामिन वा फलफुलको मूल्य बीमाले भुक्तान गर्दैन । डेन्टल बिमितको हकमा कस्मेटिक रुपमा प्रयोगरिने ब्रासेस, क्राउनको पैसा बीमाले दिदैन । यति कुरा बुझेको अवस्थामा स्वास्थ्य बीमा गर्न र त्यसबाट दाबी भुक्तानी लिन समस्या हुँदैन ।

फाईल तस्वीर