हाप्किडो संघ धादिङ गठन, किशोर तामाङ अध्यक्ष

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ५, २०८०

धादिङ । नेपाल हाप्किडो संघ धादिङको अध्यक्षमा किशोर तामाङ चयन भएका छन् । धुनीबेसी नगरपालिकामा सम्पन्न जिल्ला भेलाले किशोर तामाङको अध्यक्षतामा ८ सदस्यीय हाप्किडो संघ धादिङ गठन गरेको हो ।

नव गठित कार्य समितिको उपाध्यक्षमा दावा लामा र सुदिप थापा, सचिवमा सन्तोष रेग्मी, कोषाध्यक्षमा मञ्जु तामाङ, सदस्यहरुमा सुनिल तामाङ, सुमन उप्रेती र बलराम मगर चयन भएका छन् । भेलाले ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ जसमा संयोजक राजकुमार पाठक, सदस्यहरु राजकुमार रुपाखेती र विदुर आचार्य छन् ।

हाप्किडो संघ बागमती प्रदेशका अध्यक्ष मनोज लामाको सभापतित्व तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त भेलामा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुवोध) को विशेष आतिथ्यता तथा धुनीबेसी ६ का वडा अध्यक्ष रमेश आचार्यको आतिथ्यता रहेको थियो ।

के हो त हाप्किडो खेल ?

‘हाप्किडो’ विशेष गरेर कोरियन मार्शल आर्ट्स खेल हो । यो खेलको उत्पत्ति दक्षिण कोरियामा सन् १९४८ मा भएको हो । यो खेलको जन्मदाता चाई योङ्ग सुल हुन् । सुलको जन्म सन् १९०४ मा दक्षिण कोरियामा भएको थियो । सुलले मार्शल आर्ट्सका विभिन्न विधाबाट प्रभावित भएर आफ्नो कलामा आधारित ‘हाप्किडो’ लाई मार्शल आर्ट्स खेलको रुपमा विकास गरेका थिए ।

युरोपमा हाप्किडोले आफ्नो जरा गाडिसकेपछि यसको विकास एसियन राष्ट्रहरुमा हुन पुग्यो । सर्वप्रथम इन्डोनेशिया, सिङ्गापुर, थाइल्याण्ड, उज्बेकिस्तान, भियतनाम, किर्गिस्तान, काजकिस्तान, मंगोलिया, कम्बोडिया, लाओस र हङकङमा यो खेलको विकास र विस्तार भएको देखिन्छ । त्यसपछि अरेबियन राष्ट्रहरुमा पनि यो खेलले विस्तारै विस्तारै, आफ्नो पकड जमाउन सफल भएको थियो । त्यसको केहि समय पश्चात् यो खेलको विकास अष्ट्रेलिया, दक्षिण अफ्रिका र उत्तर अमेरिका महादेशका राष्ट्रहरुमा हुन पुगेको थियो ।

पछिल्लो समय वि.सं. २०६४ सालमा डोजाङ्गकै रुपमा हाप्किडो खेल नेपालमा भित्रिएपनि २०७३ सालमा मात्रै यसले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट राष्ट्रिय संघको रुपमा मान्यता पाएको थियो । अहिले नेपालमा यो खेल लोकप्रिय बन्दै गहि रहेको छ ।