
काठमाडौं । नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका १६ जना सुनधरास्थित केन्द्रीय कारागारमा चलान भएका छन्।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरू केन्द्रीय कारागारमा चलान भएका हुन्। यसअघि उनीहरू प्रहरी परिसर टेकु, प्रहरी वृत्त दरबारमार्ग, प्रहरी वृत्त सोह्रखुट्टे, प्रहरी वृत्त कालिमाटीका न्यायिक हिरासतमा थिए ।
रायमाझीको सांसद पद निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको हो ।
अदालतले रायमाझीसहित सबै हाइप्रोफाइललाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा रहेको व्यवस्थाअनुसार रायमाझी निलम्बित भएका हुन् ।
उक्त प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका थिए।
त्यस्तै पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी, अङटावा शेर्पा, समशेर मियाँ, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी रहेका छन्।शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो। उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायाको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ।