धादिङमा गर्मीले शिक्षक, विद्यार्थी बेहोस हुन थालेपछि विद्यालयले विदा दिन थाले

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २६, २०८०

धादिङ । केहि दिन देखि बढेको अत्याधिक गर्मीका कारण शिक्षक विद्यार्थी बेहोस हुन थालेपछि धादिङमा विद्यालयहरुले विदा दिन थालेका छन् । धादिङको त्रिपुरासुन्दरी र बेनीघाट रोराङ गाउँपालिकाले सूचना नै जारी गर्दै विदा दिन सक्ने बताएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका स्थित अचने माविमा ५ जना विद्यार्थी गर्मीका कारण बेहोस भएपछि ३ जनालाई अस्पताल लानु परेको घटना सँगै विदा दिईएको छ । यस्तै त्रिपुरासुन्दरी कै चक्रेश्वरी र जलेश्वरी आधारभुत विद्यालयमा शिक्षक र विद्यार्थीहरु विरामी परेपछि आईतबारबाट विद्यालय बन्द हुने भएको छ ।

त्रिपुरासुन्दरीको शिक्षा शाखाले दिएको जानकारी अनुसार यदि आईतबार सम्म पनि वर्षद भएन र गर्मी बढेर गयो भने गाउँपालिकाका अधिकांस विद्यालयहरु बन्द हुनेछ । यस्तै गर्मी अत्याधिक बढेपछि बेनीघाट रोराङको शंखादेवि मावि र बागेश्वरी मावि गल्छीले पनि गर्मी विदा दिईएको छ । शंखादेवि मावि मझिटार लगायत राजमार्ग क्षेत्रमा शुक्रबार दिउँसो ४० डिग्री तापक्रम मापन भएको शिक्षक तिलक चेपाङले बताए ।