एड्भान्समा महिनावारी स्वच्छता दिवस मनाईयो

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १५, २०८०

धादिङ । महिनावारी स्वच्छता दिवस र गणतन्त्र दिवसको अवसरमा एड्भान्स एकेडेमीमा विविध गतिविधि सञ्चालन गरिएको छ । हरेक वर्ष मे २८ तारिखमा मनाईने महिनावारी स्वच्छता दिवसको अवसरमा कक्षा छ देखि दशसम्मका विद्यार्थीहरूको लागि विद्यालयमा रहेको युवा रेडक्रस सर्कलद्वारा महिनावारी स्वच्छता व्यवस्थापन तथा वैकल्पिक सेनेटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।

त्यस्तै जेठ १५ गते पर्ने गणतन्त्र दिवसको अवसरमा विद्यालयको अङ्ग्रेजी विभागद्वारा कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीहरूको लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । वक्तृत्वकला अन्तर्गत कक्षा एक र दुईका विद्यार्थीहरूबिच भएको प्रतियोगितामा परिधि भट्ट प्रथम, द्वितीय स्मारिका श्रेष्ठ र कुन्दन भण्डारी तृतीय भएका थिए भने कक्षा तीनदेखि पाँचसम्मको प्रतियोगितामा सुप्रिया कोइराला प्रथम, रोजिना तामाङ द्वितीय र कृतिका ढकाल तृतीय भएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक भिम बहादुर श्रेष्ठले विद्यालयमा पठनपाठनलाई समेत गतिविधिमा आधारित बनाइने र यसले विद्यार्थीहरूको सिकाइमा सकारात्मक प्रभाव पारेको जानकारी दिए । अन्त्यमा गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण विद्यार्थी, अविभावक, शिक्षक तथा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।