प्रदेशको उपाधी दावेदार धादिङ क्रिकेट टिममा को-को परे

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ४, २०८०

धादिङ । धादिङ जिल्ला क्रिकेट संघ क्यानको मान्यताको पर्खाईमा छ । जिल्लामा विभिन्न प्रतियोगिता गर्दै आएको धादिङको क्रिकेट टिम अन्य जिल्लामा पुगेर पनि खेल्दै आएको छ । धादिङको क्रिकेट गतिविधिलाई स्थापित गर्दै प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको फाईनलमा मकवानपुर सँग ३७ रनले स्तब्ध हुन पुगेको धादिङ क्रिकेट टिम फेरि यहि जेष्ठ ७ गते देखि हुन लागेको दोस्रो बागमती प्रदेश खेलकुदका लागि तयारी गरिरहेको छ ।

गत वर्ष जस्तै यो पटक पनि धादिङ टिमको क्याप्टेन अमृत थापाले नै गर्ने छन् भने गतवर्ष कोचको भुमिकामा रहेका अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक शेरबहादुर लामा हङ्कङमा हुँदा यो पटक धादिङ क्रिकेट धरोहर उदय थापाले प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएका छन् । अनुभवी खेलाडी श्याम त्रिपाठी, कौशल रुपाखेती, स्वप्निल अधिकारी, आरम्भ तिमल्सिना, रुपेश भुजेल र श्रीकृष्ण उपाध्याय दोस्रो पटक प्रदेश खेल्न लाग्दै छन् ।

गत साल खेल्ने धादिङ टिमका सिनियर खेलाडी मध्यका एक उज्वल थापा यो पटक टिममा देखिने छैनन् । अभ्यासका कारण हातमा समस्या हुँदा उनले यो प्रतियोगिता गुमाउने भएका हुन् । यो पटक धादिङबाट ७ जनाले पहिलो पटक बागमती प्रदेश स्तरीय खेल खेल्न लागेका छन् । धादिङबाट पहिलो पटक बागमती खेल्न लागेका ७ खेलाडीहरु धादिङ गंगाजमुनाका राजु ढकाल र दिपक ढकाल, ज्वालामुखीबाट दिवस कडेल, गजुरीबाट सृजन पाण्डे, नीलकण्ठबाट अमृत लम्साल, गल्छीबाट अनिल थापा र बेनीघाट रोराङबाट विस्वास श्रेष्ठ हुन् ।

गत वर्ष बन्द प्रशिक्षणको समय कम थियो । खेलाडीहरुको घुलमिल र सहकार्य सँग टिम वर्क मिल्न कठिन देखिएको थियो । धादिङको क्रिकेट इतिहासमा पहिलो पटक प्रदेश खेल्दा केहि डर र अत्यास थियो गत वर्ष, यो पटक टिममा कुनै समस्या छैन । यो पटक टिम स्पिड छ । गत वर्ष भन्दा राम्रो खेल्छन् भन्नेमा आफुमा पूर्ण विस्वास रहेको प्रशिक्षक थापा बताउँछन् ।