धादिङ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६१ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।
नेपालमा १९२६ मा पहिलोपटक मनाईएको थियो बुद्ध पूर्णिमा
पालमा कहिलेदेखि सामूहिक रूपमा वैशाख पूर्णिमा मनाउन थालियो भन्ने जानकारी धर्मादित्य धर्माचार्यद्वारा सम्पादित/प्रकाशित बुद्ध धर्म पत्रिकाले दिन्छ । त्यस पत्रिकाको दोस्रो अंक (१९२६) को लेखमा ‘बुद्ध संवत् २४७० को पूर्णिमा’ मा मनाउने अपेक्षा गर्दै लेखिएको थियो– ‘दुःखको कुरा, नेपाल राज्य जहाँ कपिलवस्तु नगर अवस्थित छ, भविष्यमा भगवान बुद्ध हुने बोधिसत्व जन्मेको लुम्बिनीजस्तो पुण्यभूमि छ र लाखौं बौद्ध छन् । र पनि, बुद्धको उत्सव मनाइँदैन । त्यसकारण वैशाख पूर्णिमादेखि महीना दिनसम्म भगवानको उपयुक्त आदरसत्कार र पूजा गर्नुपर्यो । सकिन्न भने वैशाख पूर्णिमाका दिन मात्र भए पनि भगवानको नाममा नेपालका मूल ठाउँहरू मञ्जुपत्तन, अशोकपत्तन लुम्बिनीमा गर्नुपर्छ । लुम्बिनीमा त नगरी हुन्न किनभने त्यहाँ भगवान बुद्ध हुने सिद्धार्थ राजकुमार जन्म भएका थिए । यो ठाउँ हाम्रो धर्मको मूल ठाउँ हो ।’
त्यसको तीन वर्षपछि धर्मादित्यकै सम्पादनमा कलकत्ताको महाबोधि सोसाइटी कलेज स्क्वायरबाट प्रकाशित बुद्धिस्ट इण्डिया (१९२८ जून) अंग्रेजी त्रैमासिकको समाचारमा नेपालमा तेस्रो पल्ट वैशाख पूर्णिमा मनाएको उल्लेख भएअनुसार १९२६ मा पहिलो पटक नेपालमा वैशाख पूर्णिमा उत्सव मनाएको सिद्ध हुन्छ ।
इतिहासका अध्येताहरू बुद्धको जन्मसाल इ.पू. ५६३ लाई मान्छन् तर श्रीलंकालीहरू भने इ.पू. ६२३ लाई आधार मानेर जन्मदिन मनाउँछन् । श्रीलंकाली मान्यताकै प्रभावमा संयुक्त राष्ट्रसंघले पनि यही साललाई आधिकारिक मानेको छ । बौद्ध जगतमा बुद्धको जन्म (इ.पू. ५६३), बुद्धत्व प्राप्ति (इ.पू. ५२८) र महापरिनिर्वाण (इ.पू. ४८३) लाई ज्यादै महत्व दिइन्छ । तीनै दिन वैशाख पूर्णिमामै पर्नु आश्चर्यको संयोग हो । यसलाई त्रिसंयोग दिवसको रूपमा मनाउनुपर्छ भन्ने पनि छन् ।