अमेरिकामा धादिङ नेपाली समाजको समर पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
भदौ १, २०८३

न्यूयोर्क । धादिङ नेपाली समाज अमेरिका इन्कले आयोजना गरेको Summer BBQ & Picnic 2026 न्यूयोर्कको Flushing Meadows Corona Park मा भव्य रूपमा सम्पन्न भएको छ ।

आइतबार अगस्ट १६, २०२६ मा आयोजित कार्यक्रममा अमेरिकामा रहेका धादिङेली तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा BBQ तथा खानपानसँगै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि र बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।

धादिङ नेपाली समाज अमेरिकाले अमेरिकामा रहेका धादिङेलीबीच आपसी भेटघाट, भाइचारा, सांस्कृतिक सम्बन्ध तथा समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

निःशुल्क पिकनिक, र्‍याफलमा आकर्षक पुरस्कार

कार्यक्रममा सहभागी हुन पिकनिकका लागि कुनै शुल्क तोकिएको थिएन । कार्यक्रममा Grand Raffle 2026 समेत आयोजना गरिएको थियो ।

र्‍याफलको प्रथम पुरस्कारमा सुनको मंगलसूत्र, द्वितीय पुरस्कारमा Apple Watch र तृतीय पुरस्कारमा AirPods लगायतका पुरस्कार राखिएको थियो । र्‍याफल टिकटमार्फत सहभागीहरूलाई पुरस्कार जित्ने अवसर प्रदान गरिएको थियो ।

धादिङेली समुदायको भेटघाटको अवसर

धादिङ नेपाली समाज अमेरिकाका अनुसार संस्थामा करिब ७५० सदस्य आबद्ध छन् । संस्थाले विभिन्न समयमा धादिङेली समुदायलाई एकताबद्ध गर्ने, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्ने र आपसी सहयोग तथा सहकार्य बढाउने कार्यक्रम गर्दै आएको छ ।

Summer BBQ तथा Picnic ले अमेरिकामा रहेका धादिङेलीहरूलाई एउटै स्थानमा भेला भएर अनुभव तथा खुसी साटासाट गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

कार्यक्रममा समाजका अध्यक्ष तथा पिकनिक संयोजक सागर अधिकारी, वरिष्ठ उपाध्यक्ष राज गुरुङ, उपाध्यक्ष राम मल्ल ठाकुरी, महासचिव हरि गिरी, सचिव रमन श्रेष्ठ, कोषाध्यक्ष एलान तामाङ तथा सह-कोषाध्यक्ष रामचन्द्र उप्रेती लगायतको सहभागिता तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धादिङ नेपाली समाज अमेरिकाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, सहभागी, सहयोगी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेको छ ।