धादिङ समाज बहराइनको संयोजकमा राजु भण्डारी

Avatar photo
Dhadingpost
भदौ १, २०८३

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले बहराइनमा रहेका धादिङवासीबीच आपसी एकता, सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले राजु भण्डारीलाई धादिङ समाज बहराइनको संयोजकको जिम्मेवारी दिएको छ ।

सन् २००९ देखि बहराइनमा बसोबास गर्दै आएका भण्डारीले नेपाली तथा धादिङवासी समुदायको हित, एकता र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको अन्तर्राष्ट्रिय धादिङ समाजले जनाएको छ। उहाँको सामाजिक योगदानको कदर गर्दै बहराइनमा समाजको संयोजकको जिम्मेवारी दिइएको हो ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीले संयुक्त रूपमा जारी गरेको पत्रमार्फत भण्डारीलाई जिम्मेवारी प्रदान गरिएको हो ।

पत्रमा भण्डारीले बहराइनमा रहेका धादिङवासीलाई समाजसँग जोड्दै संस्थाका उद्देश्य, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

नवनियुक्त संयोजक भण्डारीले बहराइनमा रहेका धादिङवासीबीच आपसी सम्बन्ध र सहकार्यलाई मजबुत बनाउँदै सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजले उहाँलाई सफल कार्यकालको शुभकामना दिँदै बहराइनमा संस्थाको गतिविधि विस्तार र प्रभावकारी सञ्चालनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजले पछिल्लो समय विभिन्न देशमा रहेका धादिङवासीलाई संगठित गर्दै शाखा तथा संयोजकमार्फत सामाजिक सहकार्यलाई विस्तार गर्दै आएको छ ।