काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
नेपालले समूह चरणमा मलेसियालाई ६ विकेट, ओमानलाई ८४ रन र कतारलाई ६८ रनले हराउँदै सेमिफाइनल स्थान बनाएको थियो भने कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको थियो । त्यस्तै आज हुने दोस्रो सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएईबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल भने मुलपानी मैदानमा हुनेछ ।
फाइनल सोमबार हुनेछ । यस प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । त्यस्तै आज सेमिफाइनलमा पराजित भएका दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । फाइनलमा पुग्ने दुई र तेस्रो स्थानमा रहने तीन टोली गरि ३ टोलीले आगमी जुनमा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
यस अघि भएको नेपाल र कुवेतको खेल
नेपालले कुवेतसँग ५० ओभरको खेलमा पछिल्लो पटक २०१२ मा खेलेको थियो । एसिसी इलिट ट्रफीमा नेपाल कुवेतसँग ४ विकेटले पराजित भएको थियो । पारस खड्का १ सय ६ र ज्ञानेन्द्र मल्लले ५३ रन बनाएपछि कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य कुवेतले ४६.२ ओभरमै पुरा गरेको थियो । नेपालले पछिल्लो पटक कुवेतसँग टि२० विश्वकप छनोट २०१९ मा खेलेको थियो ।