धादिङ । बागमती प्रदेशको दोस्रो खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समिति धादिङले खेलाडी छनोट गर्ने मिति सार्वजनिक गरेको छ । खेलाडी छनोटका लागि यस अघि चैत्र २१ गते सूचना जारी गर्दै २५ गते छनोटको कार्यक्रम राखेपनि २२ गते अर्को सूचना जारी गर्दै अर्को सूचना नआए सम्म छनोट कार्यक्रम स्थगित रहने बताएको थियो ।
पछिल्लो सूचना बैशाख ११ गते फेरि सूचना जारी गर्दै बैशाख १२ गते देखि १५ गते सम्म खेलाडी छनोटको सूचना जिल्ला खेलकुद विकास समिति धादिङले जनाएको हो । जस अन्तरगत ब्याडमिण्टन १२ गते, एथ्लेष्टिक १३ गते, कराँते, तेक्वान्दो, क्रिकेट, बक्सिङ र आईटिएफ तेक्वान्दो १४ गते, भलिबल र फुटबलको १५ गते छनोट गरिने जिल्ला अध्यक्ष प्रताप सिंह तामाङले धादिङपोष्टलाई बताए ।
खेलकुद परिषद बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार १३ विधाका खेलहरु (तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी) समबेस हुने बागमती प्रदेशको दोस्रो खेलकुद प्रतियोगिता बैशाख २९ गते आठ दिन सम्म हेटौंडामा हुनेछ । (फाईल तस्वीर: गत वर्ष बागमती प्रदेश स्तरीय क्रिकेट विधा तर्फ उपविजेता बनेको धादिङ टिमको हो । उक्त प्रतियोगितामा धादिङको क्रिकेट टिम मकवानपुर सँग पराजित हुँदा उपविजेतामा रोकिएको थियो)