काठमाडौं । एसियाली क्रिकेट काउन्सिल )एसीसीं) प्रिमियर कपको आफ्नो तेस्रो खेल आज नेपालले साउदी अरेवियासँग खेल्ने छ । यस अघि लगातार दुई खेल जितेको नेपालले आज साउदीलाई पराजित गरे एक खेल अगावै सेमिफाईनल पुग्ने छ ।
समूह ए बाट पहिलो खेलमा मलेसिया र दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ओमानमाथि सहज विजय निकालेको नेपाल टिमले मूलपानी मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नयाँ विपक्षी यसअर्थमा कि नेपालले साउदी अरबसँग ११ वर्षपछि एकदिवसीय क्रिकेट खेल्दैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पछिल्लोपल्ट सन् २०१२ को अक्टोबरमा एसीसी ट्रफीअन्तर्गत नेपालले समूह चरणमा साउदी अरबसँग खेलेको थियो । त्यो खेलमा १३२ रनको लक्ष्य पछ्याएको नेपाललाई १३.१ ओभरमै जिताउन तत्कालीन उपकप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक ब्याटिङ गरेका थिए । १८ बलमा अर्धशतक पूरा गरेका उनले २३ बलमा अविजित ६१ रन बनाएका थिए । उनले दशौं ओभरमा साउदीका बलर नदिम जावेदलाई लगातार ६ चौका प्रहार गरेका थिए । त्यसयता एकदिवसीयमा नेपाल र साउदीको भेट भएको छैन ।