धादिङ सिमथलिमा आज लोकदोहोरी प्रतियोगिता, साथमा राष्ट्रिय कलाकारको प्रस्तुती रहने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २४, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ख्याति प्राप्त कलाकारहरुको साथमा लोक दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

वडा नम्बर २ स्थित सिमथलिमा रहेको प्रजा आधारभुत विद्यालयमा उक्त प्रतियोगितामा सबै वडाले भाग लिने छन् भने ख्याति प्राप्त कलाकार बालचन्द्र बराल र सुमन थापा मगरको बेजोड प्रस्तुति रहने गाउँपालिकाले जनाएको छ ।

किन मनाईन्छ अन्तर्राष्ट्रिय महिला दिवस ?
विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ लाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ । क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन् श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो ।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बीजारोपण भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो । उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन् । त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाए ।

पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। त्यसको १०० वर्ष सन् २०११ मा मनाइयो, त्यसैले यो वर्ष हामी ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै” भन्ने विषयलाई आत्मसात् गर्‍यो ।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो । यो दिवस मार्च ८ तारिखमा मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस यही दिन मनाउने भनेर क्लाराको कुनै विचार थिएन ।

सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले “रोटी र शान्ति” को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो । महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो । त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइन्छ।