माओवादी केन्द्र धादिङको निष्कर्ष, निर्वाचनमा कांग्रेसबाट धोका भयो

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २४, २०७९

धादिङ । नेकपा माओवादी केन्द्र धादिङको आज सम्पन्न बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्दै अन्य गठबन्धनका दलहरु मुख्यता कांग्रेसले धोका दिएको निकर्ष निकालेको छ । वैठकले धादिङ १ को २ मा निर्वाचित भएकोमा जिल्ला इन्चार्ज जमकट्टेललाई बधाई तथा सम्मान गर्दै माओवादी केन्द्रलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यावाद ज्ञापन समेत गरेको थियो ।

बैठकले निर्वाचनमा माओवादीले उच्च नैतिकता प्रदर्शन गर्दै गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरेपनि कांग्रेस र एकीकृत समाजवादीको वेईमानीका कारण धादिङ क्षेत्र नं. २ को प्रदेश २ मा माओवादीलाई योजनाबद्ध रुपमा हराईएको माओवादीले निकर्ष निकालेको बैठकमा सहभागि एक नेताले बताए ।

माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल, अनुशासन आयोगका मोहन कार्की, धादिङबाट प्रतिनीधित्व गर्ने माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्यहरु, माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारी, जिल्ला पदाधिकारीहरुको बैठकले निर्वाचनको समिक्षा गरेको जिल्ला सचिव दिपक लामिछाने (सुवोध) ले धादिङपोष्टलाई बताए ।

सचिव लामिछानेका अनुसार वैठकले अब पार्टी निमार्णमा केन्द्रित हुने र आगामी ५ वर्ष भित्रमा माओवादी केन्द्रलाई जिल्लामा सबैभन्दा ठुलो दलको रुपमा अगाडी ल्याउने गरि पार्टी निमार्ण गर्ने समेत निर्णय गरेको छ । फाईल तस्वीर