कांग्रेसले धादिङ २ मा भुगोलले मागेको उम्मेद्वार छान्न सकेन -दिलमान पाख्रिन

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २०, २०७९

धादिङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दिलमान पाख्रिनले धादिङ २ मा भुगोलले मागेको उम्मेदवार कांग्रेस केन्द्रले छान्न नसकेको बताएका छन् । खनियाबास ४ किन्ताङफेदीमा आयोजित दामन पाख्रिन स्मृति दिवस कार्यक्रममा बोल्दै नेता पाख्रिनले आफ्नो ३ पुस्ताले कांग्रेसमा त्याग गरेको बताउँदै कांग्रेस केन्द्रले पछिल्लो समय उम्मेदवार चयनमा भुल गरेको बताएका हुन् ।

अहिले गठबन्धनको नाममा एक पार्टीको कार्यकर्ताले अर्को पार्टीको चिन्हमा भोट माग्नु पर्ने, अर्को पार्टीको चिन्हमा भोट हाल्नु पर्ने त्यहि अनुसार प्रचार गर्दै गर्दा आफ्नो पार्टी कै नाम गुमगाम पार्नु पर्ने हुँदा राजनीतिक दलको नामै नरहने अवस्था आएको उनले बताए ।

राजनीतिक दलले संविधानले निर्दिष्ट गरेको समानुपातिक, समावेसीलाई लत्याएर टिकट वितरण गरेको र त्यसमा कांग्रेस अछुतो नरहेको उनले बताए । समानुपातिक, समावेसीको नाममा दलहरुले श्रीमती भाईभतिज र नातेदार ल्याउने गरेका छन् यसले संविधानको रक्षा भयो ?दलहरु सच्चन जरुरी रहेका समेत पाख्रिनलले बताए ।

गोपाल फ्युबा तामाङको खोज तथ्याङ्क, को हो हुन् खनियाबास विद्रोहको अगुवा दामन पाख्रिन
स्मरण १. भौतिकवादमा विश्वास गर्ने एक मित्र भेट्न म विहान साँढे आठ बजेतिर गएको थिए उनी रेडियोबाट आउने ज्यातिष दर्पण भन्ने कार्यक्रम सुन्दै रहेछ । इन्जिनियरिङ पढ्ने उनी हस्तकलाको किताब सिरानीमा राख्दो रहेछ । उनी हाम्रो हात हेरेर भूत र भविष्य आकलन गर्ने भइसकेको रहेछ । उनले नै मलाई यस्ता कुराहरु हामीलाई पछाडि पार्न रचिएको उच्चजातिय अहंकारवादीहरुको एक षड्यन्त्र भनि बताउँदथे ।

स्मरण २. दामन पाख्रिनबारे सोध खोज गर्ने क्रममा नेपाली कांग्रेसका एक नेताले “डाबोन कुटपिट, लुटपिट गर्ने रजहनी डाका गरेका एक जघन्य अपराधी हुन्” भने । कारण र आरोप थियो, उनी पार्टीले घोषणा गरेको कुनै पनि आन्दोलनमा सहभागी थिएनन् । उनी आफ्नै पारिवारिक रिसले बाहुन कुट्दै हिडेका मानिस हुन् ।

स्मरण ३. विद्रोह नै हैन । यो लुटपाट हो । पश्चिम एक नम्बरमा त्यसबेला जे भयो त्यो कुटपिट र लुटपाट बाहेक केही थिएन । न बैठक बसेकये थियो, न त निर्णय गरेको थियो । जो जोलाई जे जे गर्न मन लाग्छ त्यो गरेको थियो । काम नगरी खान रुचाउनेहरुको काम थियो । त्यसैले यो विद्रोह हैन । तिमी कति यो विद्रोह भनी पछ्याइ रहन्छौं बाबु भनेर मैले सम्मान गर्ने एक अग्रजले यात्रालाई निरुत्साहित गर्नु भो ।
यी स्मरणहरुसँगै म आज यस लेखमा तामाङहरुमा ल्हो पद्धति र खनियाबास विद्रोहलाई दामन पाख्रिन यानेकी डाबोनसँग घुलमिल गराउने प्रयास गरेको छु । न्वारनको दिन डाबोन नामकरण गरिएको थियो । डाबोन सरकारी लेखोटमा आउदा दामन लेखियो । राज्यले तामाङ थर लेख्न नदिएकाले थर अगाडि बढाए र भए दामन पाख्रिन । सन् १९३७ (पासपोर्टमा उल्लेख भएअनुसार) मा जन्मनु भएका दामन सुरुमा आफ्नै मुक्तिका लागि लड्नु भो ।

उहाँलाई काम गर्ने मेलामा साहुँहरुले हपारेको, हेपेको र पेटभर नपाएको झोंकमा घर छाडेर हिड्दथे । एक ल्हेकोर आसपासमा नै घर छाडेर बिभिन्न गाउँहरु घुमेकय थिए । पश्चिम एक नम्बरभर उस्तै थिचोमिचो, अन्याय, अत्याचार, दमन र शोषण देखेर उनको मथिंगल हल्लन्थ्यो । अठार वर्षको उमेमै लाहुर गएका उनी फर्कदा बुबा ऋणमा डुबेको पाए । २२ वटा मुद्धा हारेर ऋणमा फसेको बुबालाई एक्लै छाड्न सकेनन् ।

कारण खोज्दै जाँदा घर बनाउन किनेको जग्गामा कचिंगल र मुद्धा परेको थियो । ४२०० ऋणको सावाव्याज गरेर १,८००० भएको थियो । त्यसमाथि समय समयमा व्याज तिरेका थिए । त्यसैले उनले साँहुहरु पिट्न थाले । उनको पछि लागेर सबैले आफ्ना साहुँहरुसँग विद्रोह गरे । मिलाउने आउने पुलिसको नियतले गर्दा निर्घात पिटे, थुनेर राखे ।

संगीन बोकेका मिलटरी समेतसँग बडाहाकिमको टोली गुन्मुङमा आइपुगे । सबै आसामीहरुको नाजायज ऋणहरु बडाहाकिम टोलीले बदर गरिदिए । स्याबासी पाए, ताली पाए । त्यसको लागि दामन र अन्य योद्धाहरुले जेल जान पर्यो । गदगद भएर तीन महिना जतिको कठोर जेलयात्रा सहज स्विकार गर्नुभयो ।

कांग्रेसका पश्चिम एक नम्बरका सभापति जगतप्रकाश जंग शाह जमानी बसेर जेलबाट निस्कदा थाहा भो त्यो त राजनीतिक खिचातानीको विषय भइसकेको थियो । असमञ्जस्यता बढ्यो । खेतबारीमा काम गर्न अवज्ञा र असहयोग गर्न लगाउनु भयो । मोहियानी दाबी गर्न सिकाउनु भयो । अन्तिममा साँहुहरुको घर भकारीमा हात हाल्नु भयो । साहुँहरु तितरवितर भयो । पञ्चायतले साहुँहरुको पक्ष लियो ।
दामन पाख्रिन लगायतका बिद्रोहीहरु ७ वर्ष लामो काराबासमा बन्द गराइदियो । काराबासले जीवन भोगाइको अर्थ सिकाइदियो । विद्यालयको सञ्चालक बन्नु भयो । शिक्षक बन्नु भयो । वारेन्ट आए पछि १८ महिना निर्वासन जानु भयो । पार्टीका जिम्मेवार नेताले १५ महिनासम्म पाउने भत्ता पनि दिइएन, पञ्चायतको सुराकी ठानेर । २०२६ पछि नेताहरुसँगै फर्कनु भयो । प्रधानपञ्च हुनु भयो ।

जनता र समाज परिवर्तनको लागि काम गर्दा गर्दै सुत्केरी भएकी श्रीमतीको स्याहारसुसार गर्न समय निकाल्न सक्नु भएन । जीवनसाथी भन्टाङ भुन्टुङ चार सन्तान छाडेर सदाको लागि निदाउँनु भयो । पञ्चायतलाई फाल्न हतियार उठाउन तयारहरुको रगतको छाप सहितको नामवली पुर्याउन पार्टी मुख्यालयमा नपुग्दै हेटौडामा कागज पत्र बरामद भयो । धन्न खेतै खेत खोलाको तीर तीर भएर भारत पुग्नु भयो ।राजकाज मुद्धा लगाई उहाँहरुको बुबा समेतलाई सर्वस्वहरण गरियो । चल सम्पत्ति लग्यो, पशुधन समेत लग्यो । अचल सम्पत्ति रोक्का भयो । बहुदलको पक्षमा लाग्नु भयो ।

दुई पटक जिल्ला पञ्चायतमा उमेद्वारी दिनुभयो । पराजित हुनु भयो । राष्ट्रिय पञ्चायत लड्नु भयो, हार्नु भो । बिरक्तिएर हिड्नु भयो । बहुदलपछि प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भयो । मध्यवतिमा पराजित हुनु भयो । सदनमा सामान्य कृषक, दुःखी गरिब जनताको प्रतिनिधित्व गर्नु भयो । तल्लो सर्वहारा वर्गको मागहरु राख्नु भयो । विकासका लागि पहल कदमी लिनुभयो । पार्टीको जिल्ला सभापति बन्नु भयो । घाटीको क्यान्सरको कारण ६२ वर्षको उमेरमा आजैका दिन दुःखत अन्त्य भयो ।

आफ्ना झोकमा हात हाल्नु भएको पक्का हो तर यो समग्रको प्रतिनिधित्व हो । यो विद्रोह हुन नसकेको भए आज पर्यन्त त्यहाँका आसामीहरुको हालत के हुन्थ्यो रु साहँुहरुको थिचोमिचो, अन्याय, अत्याचार, दमन र शोषण कुन हदसम्म पुग्थ्यो रु त्यो कल्पना पनि गर्न डर लाग्छ । यो विद्रोहले राष्ट्रिय राजनीतिमा समेत स्थान पाएकाले यो व्यक्तिगत रिसिइबी मात्र हो भनी कसैले भन्छ भने त्यो अध्ययनको कमीको उपज मात्र हो । त्यसैले त्यो गौरवपूर्ण बिद्रोहको कारण हजारौ परिवारले मुक्ति पाएका थिए । त्यसैले खनियावास विद्रोहका नायक स्व। दामन पाख्रिन (डाबोन) लाई सबैले आज पर्यन्त जेसिङन्हङकी अन्तरे डाबोन भनेर सम्झि राखेका छन् ।