
धादिङ । आन्तरिक तथा वाह्य पर्यटकको मन लोभ्याउने दर्जनौं ठाउँहरु उत्तरी धादिङको रुबीभ्याली र खनियाबास गाउँपालिकामा रहेका छन् । ति मध्य एक हो खनियाबासमा रहेको सिचेत ताल । धादिङ जिल्लाको खनियाबास गाउँपालिका वडा नं १ झार्लाङमा रहेको सिचेत ताल धार्मिक र भौगोलिक पर्यटकीय हिसाबले अति महत्वपूर्ण स्थल रहेको स्थानीय राज तामाङ बताउँछन् ।
यस तालमा गणेश हिमाल (ल्हप्सङकर्पो) को छायामा प्रष्ट देखिने हुँनाले सिचेत ताल सुन्दरता झनै गज्जवको देखिन्छ । चिटिक्क आकर्षक यस पोखरीमा अहिले फोटो खिच्न जानेको स्थानीयहरु ताती लाग्दछ । हामीलाई राज तामाङले उपलब्ध गराउनु भएको ताजा केहि फोटोहरु यहाँ पोष्ट गरेका छौं ।
करिब २,१०० मिटर उचाइमा रहेको सिचेत ताल दुईवटा छन् । ममा (स्त्री) देखि व्हपा (पुरुष) ५० मिटरको दुरीमा रहेको छ । तल र माथि रहेको यी तालमा व्हपा पोखरी देखि ममापोखरी हुँदै पानी बग्दछ । ममा पोखरीको भित्तामा एउटा अचम्मको ढुङ्गा छ त्यही पुजा गर्ने गर्दछन्, यो हेर्दा त्यति आकर्षक लाग्दैन तर धार्मिक विश्वासको आधारमा यो व्हपाभन्दा शक्तिशाली पोखरी हो । भने व्हपा पोखरीमा तीनवटा कुङ्करहरु छन् । यसमा गणेश हिमालको छाया देख्न सकिन्छ ।
स्थानीय खोजकर्ता गोपाल फ्युवाका अनुसार सिचेत तामाङ शब्द हो । यसलाई विग्रह गर्दा सि र चेत बन्दछ । सि भनेको सिप को छोटो रुप हो । सिप चेत नै अपभ्रंश भएर सिचेत भएको हो । सिप (सि) भन्नाले मृत र चेत भन्नाले फाँट बुझिन्छ । फाँटमा अवस्थित यो पोखरीमा बिगार गरेमा वा जुठो पारेमा मान्छे नै मर्ने विश्वास गरिन्छ । त्यसैले सिचेत य्हे याने फाँटको मृत पोखरी भन्ने नाम रहन गएको उनी बताउँछन् ।
कसरी पुग्ने ? खनियाबासको सिचेत ताल
सिचेत पुग्नको लागि हिउँदमा काठमाडौंदेखि नै सार्बजनिक जिप वा बससेवा झार्लाङसम्म पाइन्छ । वर्षामा भने काठमाडौंबाट धादिङबेंशीसम्म मिनि बस, माइक्रो बस र डिलक्स बसहरु माछापोखरी बालाजुमा पाइन्छ । धादिङवेशी मिलनटोल काउण्टरबाट दामन पाख्रिन मार्ग हुँदै किम्ताङफेदीसम्म जीपको टिकट पाइन्छ । किम्ताङफेदीबाट अर्को जीपमा चढ्दा तरम्हाने, दार्खासम्म पुर्याउँदछ ।
पहिलो दिन पेर्चो वा मेयममा स्थानीय होटलमा बास बस्नुपर्दछ । भोलिपल्ट बिहानै नास्ता गरी ओङगुलतर्फ लाग्नुपर्दछ । ओङ्गुलमा खाना खाइ फराकिलो फाँटहरु, आलु पकेट क्षेत्र हेर्दै र पारीपट्टीको गाउँ अनि दृष्य हेर्दै सिचेत पुग्न सकिन्छ । जाडो महिनामा जब हिउँ पर्दछ, तब सेताम्य हिउँमा चिप्लेटी खेल्न बडो मज्जा आउँछ । अनेक प्रकारका जडिबुटी, चराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिन्छ । यात्रा सहजताको लागि सिल्पिङ ब्याग, रेनकोट, वाटरफ्रुफ बुट, जाडोबाट बच्ने कपडा, लेक लाग्नबाट बचाउने औषधी, ड्राइ फुड आदि सामानहरु लिएर जानुपर्दछ । तस्वीरः राज तामाङ












































