धादिङ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन बागमती प्रदेशद्वारा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्याब्सन अन्तर जिल्ला राष्ट्रिय लोकनृत्य प्रतियोगितामा धादिङबेँसीस्थित एड्भान्स एकेडेमी प्रथम भएको छ ।
बागमती प्रदेश राजधानी हेटौँडामा आयोजना गरिएको प्रदेशस्तरीय प्रतियोगितामा एड्भान्स एकेडेमी प्रथम भएसँगै सो विद्यालय यही भाद्र २५ गते पोखरामा हुने राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएको हो ।
जिल्लास्तरीय प्रतियोगिताबाट छनौट भएका १९ वटा विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा धादिङ जिल्लाको प्रतिनिधित्व गरी सहभागी भएको एड्भान्स एकेडेमी प्रथम भएको हो ।
प्रतियोगितामा सहभागी भई भक्तपुरका त्रिस्टार बोर्डिङ स्कुल द्वितीय र चितवनको नारायणी विद्या मन्दिर तृतीय भएका छन् भने ललितपुरका भ्याली पब्लिक स्कुल र मकवानपुरका रिलायन्स सेकेन्डरी इङ्लिस स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । गत साउन २९ भएको जिल्ला स्तरीय प्रतियोगितामा जिल्ला प्रथम हुँदै एड्भान्स बागमती प्रदेशका लागि छनोट भएको थियो ।
कार्यक्रम बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।