द राईजिङ भिलेजद्वारा प्रदेश विजेता खेलाडी लक्ष्मी थापा र रुपेश भुजेललाई सम्मान

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १६, २०७८

धादिङ । गल्छी गाउँपालिका गल्छी बैरेनीमा रहेको द राईजिङ भिलेज बोर्डिङ स्कुलले बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा विजयी दुई खेलाडी लक्ष्मी थापा र रुपेश भुजेललाई सम्मान गरेको छ ।

कक्षा १२ मा अध्ययनरत आफ्ना विद्यार्थीद्वय लक्ष्मी थापाले बागमती प्रदेश स्तरीय २१ किमि म्याराथनमा प्रथम हुँदै स्वर्ण पदक र रुपेश भुजेलले बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा धादिङ टिमबाट खेल्दै रजत पदक जित्न सफल भएकोले थप हौसला स्वरुप स्वर्ण पदक विजेता थापालाई नगद १० हजार र रजत पदक विजेता भुजेललाई नगद ५ हजार सहित सम्मान गरिएको प्रिन्सिपल नवराज ओझाले बताए ।

उक्त सम्मान गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको हातबाट प्रदान गरिएको समेत प्रिन्सिपल ओझाले धादिङपोष्टलाई बताए ।

यस अघि धादिङबेसी पुछार बजारमा रहेको किबो बोर्डिङले पनि आफ्नो विद्यार्थी प्रमिता तामाङ तेक्वान्दोमा बागमती प्रदेश विजेता बनेको खुसीयालीमा स्वर्ण पदक विजेता प्रमिता तामाङलाई नगद ५ हजार सहित सम्मान गरेको थियो ।

यस्तै बालमन्दिरले पनि आफ्ना विद्यार्थीहरु बागमती प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा सहभागि भई विजयी भएको भन्दै सम्मान गरेको थियो । बालमन्दिर कक्षा८ मा अध्ययनरत छात्र सुरेश तामाङ, कक्षा ७ मा अध्ययनरत छात्रा आशिका तामाङले क्रमशस् प्रथम र तृतिय स्थान प्राप्त गरेका थिए । उनीहरुलाई विद्यालयले नगद रु ५००-५०० र स्टेशनरी सामान सहित सम्मान गरेको थियो ।