स्थानीय तहलाई खेलकुद विकासका लागि २ करोड पठाउँदै छौं

Avatar photo
Dhadingpost
बिहिबार, पुस १५, २०७८

धादिङ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले खेलकुद विकासका लागि हरेक स्थानीय तहलाई २ करोड अनुदान दिईने बताएका छन् । स्थानीय तहले २ करोड अनुदान लिन उक्त रकममा ३० प्रतिशद थप गर्ने सम्झौता गरे मात्रै अनुदान पाउने समेत रेग्मीले बताए । अन्तराष्ट्रि, राष्ट्रिय, जिल्ला स्तरीय प्रतियोगितामा पदक जितेका खेलाडीहरु बीच धादिङबेसीमा आज भएको अन्तरक्रिया कार्यक्रममा खेलाडीहरुको जिज्ञासाको उत्तर दिँदै सचिव रेग्मीले पूर्वाधार विकास, खेलाडी उत्पादन र खेलाडी सम्मानका कार्यक्रमहरुलाई महत्वका साथ अगाडी बढाएको बताए ।

धादिङमा राखेपका खेल प्रशिक्षकहरु काठमाडौं बसेर तलव बुझ्ने गरेको गुनासो सम्बोधन गर्ने, जिल्ला शाखाहरु कायम गर्न राखेपबाट प्रस्ताव आएमा क्याविनेटमा पठाईने समेत बताएका थिए । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले जिल्लाको खेलकुद विकासका लागि जिल्ला खेलकुद विकास समिति योजना सहित क्यालेण्डर बनाएर गतिविधिमा अगाडी बड्नु पर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वार्ण पदक विजेता खेलाडी सन्तोषी श्रेष्ठले खेलाडीहरुले अध्ययन र खेल सँगै लैजानु पर्ने, राज्यले खेलाडीहरुको प्रतिभावलाई उचित तवरले सम्बोधन गर्नुपर्ने बताएकी थिईन् । यस्तै धादिङका पदक विजेता खेलाडीको प्रोफाईल/चिनारीलाई कार्यपत्रका रुपमा नीलकण्ठ नगरपालिकाका शिक्षा शाखाका मेघनाथ कोइरालाले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमको आयोजना युवा तथा खेलकुद मन्त्रालयले धादिङबेसी स्थित जिल्ला समन्वय समितिको सभाहलमा गरेको थियो ।