काठमाडौं कात्तिक २५ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
बिहीबार बिहानैदेखि गणकहरू खटिनेछन् । गणकलाई तालिम दिएर प्रश्नावलीसहित फिल्डमा खटाइएको छ । उनीहरूले घर–घरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । गणकले एक घरमा औसत २० देखि २५ मिनेट लगाउनेछन् । जनगणनाका क्रममा एउटा परिवारलाई करिब ८० वटा प्रश्न सोधिने तथ्यांक विभागले जनाएको छ ।
जनगणनाको पहिलो चरण अर्थात् घर तथा घरपरिवार सूचीकरण कार्यमा सूचीकृत भएका तथा कुनै कारणले त्यस समयमा छुटेकासमेत गरी सबै परिवारमा गणकहरू पुगेर व्यक्तिको विस्तृत विवरण संकलन गर्नेछन् ।
‘यसपटकको जनगणनाका क्रममा विगतमा सोधिने प्रश्नमा केही थप गरेका छौँ,’ महानिर्देशक श्रेष्ठले भने, ‘यसपटक प्राकृतिक क्षति, विपत् जोखिम, जन्मदर्ताको विवरण, पुर्खाका भाषाशैली, बैंक तथा वित्तीय संस्थामा खाता भए–नभएकोलगायत धेरैथरीका तथ्यांक संकलन हुन्छ ।’
तथ्यांक विभागले २६ असोजदेखि १४ कात्तिकसम्म घरपरिवार सूचीकरण कार्यक्रम सञ्चालन गरेको थियो । यसअघि २५ जेठदेखि ८ असारसम्म हुने भनिएको जनगणना कोभिड– १९ को कारण स्थगित गरिएको थियो ।
४० हजार गणक र साढे आठ हजार सुपरिवेक्षक
देशभित्र रहेका सबै घरपरिवार तथा व्यक्तिको तोकिएको समयसीमाभित्र गणना गर्नका लागि करिब ४० हजार गणक तथा आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुँदै छन् । यो कामका लागि १२ कक्षा उत्तीर्ण गरेका युवालाई गणनाकर्ताका रूपमा परिचालन गरिएको छ र स्नातक तह उत्तीर्ण गरेका सुपरिवेक्षकलाई गणनाकर्ताको काममा सहयोग र सुपरिवेक्षण गर्ने जिम्मा छ ।
जनगणनाको तथ्यांकको गुणस्तर सुनिश्चित गर्न केन्द्रदेखि स्थानीय तहसम्म थप कर्मचारी परिचालन गरिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । गणकले खरिदार र सुपरिवेक्षकले नायब सुब्बा तहको सुविधा पाउनेछन् । गणकलाई एक महिना तथा सुपरिवेक्षकलाई दुई महिनाको करार सम्झौता गरिएको छ ।
तीन प्रकारका प्रश्नावली
राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि तीन प्रकारका प्रश्नावली तयार पारिएको छ । जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ । यसमा २५ वटा प्रश्न छन् । दोस्रो मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्न छन् । तेस्रोमा सामुदायिक प्रश्नावलीको प्रयोग गरिनेछ । मुख्य प्रश्नावलीमा प्रत्यक्ष रूपमा परिवारले उपभोग गरेका सुविधा, खानेपानी, बत्ती, मोबाइल, सवारीसाधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ ।
त्यसैगरी, सरकारी निकायमा दर्ता नभएकाहरूको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरूको पनि तथ्यांक संकलन गरिनेछ । जसमा कुन व्यक्तिले के काम गर्छन्, कस्तो काम गर्छन्, उनीहरूले काम गर्ने ठाउँमा कस्तो उत्पादन हुन्छलगायत तथ्यांक संकलन गरिनेछ ।
सामुदायिक प्रश्नावलीमा वडास्तरमा हुनेछ । यसमा पनि घरपरिवारबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाई गर्ने काम हुन्छ । जसबाट वडास्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ ।
खासगरी आगामी जनगणनामा सामाजिक, भाषा, धर्म, जात, लिंग, वातावरणीय, जग्गा–जमिनको विवरण संकलन गरिनेछ । त्यसका साथै आर्थिक विवरण, शैक्षिक योग्यता, स्वास्थ्यसम्बन्धीलगायत तथ्यांक संकलन गरिनेछ । साथै सेवा–सुविधामाथिको व्यक्तिको पहुँच कस्तो छ भन्ने विषयमा पनि स्पष्ट रूपमा विस्तृत विवरण संकलन गरिनेछ ।
एउटा प्रश्नावली भर्न औसत २० मिनेट
एकजना गणकलाई एउटा परिवारको प्रश्नावली भर्न औसतमा २० मिनेट लाग्ने अनुमान छ । ‘जनगणनाजस्ता ठूला कामका लागि यो लामो प्रश्नावली भए पनि यसले तल्लो प्रशासनिक तह (वडा)सम्मको तथ्यांकको माग पूरा गर्ने अपेक्षा गरिएको छ,’ महानिर्देशक श्रेष्ठले भने । यस अवधिमा सुपरिवेक्षकले देशभरका ६ हजार सात सय ४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा–सुविधा, पूर्वाधार र विपत् अवस्थाको जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भर्नेछन् । आजको नयाँ पत्रिकामा अवर छ ।