बागमती प्रदेशमा कांग्रेसको मुख्यमन्त्री दावी

Avatar photo
Dhadingpost
आइतवार, अशोज २४, २०७८

धादिङ असोज २४ । वाग्मती प्रदेशसभाको नवौं अधिवेशन आज दिउँसो ३ बजेबाट सुरु हुँदैछ । अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी अनुरुप आज प्रदेश अधिवेशनको आयोजना गरिएको हो । शिर्ष नेताहरु बीच बागमती प्रदेशमा धादिङका राजेनद्र पाण्डेलाई मुख्य मन्त्री बनाउने गरि नेकपा एकीकृत समाजवादीलाई दिने सहमती भएपनि नेपाली काँग्रेस बागमती प्रदेशले मुख्यमन्त्री नछाड्ने बताएको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले वाग्मती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्नका लागि पार्टीको केन्द्रीय तहसँग छलफल अगाडि बढाउने र विपक्षी गठबन्धनमा रहेको दलसँग सहकार्यका लागि प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेस सचेतक छिरिङदोर्जे लामाका अनुसार पार्टीको केन्द्रीय तह र विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सँग समन्वय र छलफल गर्ने जिम्मेवारी कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदान गरिएको छ ।

‘वाग्मतीमा मुख्यमन्त्री हामीले प्राप्त गर्नुपर्छ भनेर हामी अझै लबिङ गरिरहेका छौं । हामी पुन: पार्टी सभापतिलाई आग्रह गर्छौं’, कांग्रेस सचेतक लामाले भने, ‘हामी प्रदेश सरकार स्थापना भएदेखि नै प्रतिपक्षमा रहेका छौं । त्यसकारण पनि सरकारको नेतृत्व हामीले गर्न पाउनुपर्छ भन्ने हो ।’ वाग्मतीमा माओवादीले मुख्यमन्त्री दाबी नगरेको अवस्थामा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने उनको तर्क रहेको छ । वाग्मती प्रदेशमा कांग्रेसको २२ मत रहेको छ ।