
धादिङ असाेज ४ । विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला गजुरीको आदमघाटमा सम्पन्नमा भएको छ । भेलाले सुन्दर तामाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी चयन गरेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीकाे प्रमुख अातिथ्यतामा भएकाे जिल्ला भेलाबाट जनपत्रकार संगठन धादिङको उपाध्यक्षमा सुजन नेपाली, सचिबमा पुजा थापा र कोषाध्यक्षमा सरोज लगुन निर्विरोध निर्वाचित भएका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले केही पत्रकारले जनताको समस्या र शोषित पीडित जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताए । सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाजलाई व्यवस्था गर्दै मुठ्ठीभर व्यक्तिको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाई थियो ।
जनपत्रकार संगठन आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या, विकृति विसङ्गती र आवाजविहिन नागरिकको आवाज बोल्नु पर्छ । समाजमा रहेका गरीब, पीडित, शोषित वर्गहरुका समस्यालाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारिता गर्नुपर्नेमा जिल्ला सेक्रेटरी सुमनले जोड दिएका थिए ।
कार्यक्रममा जनपत्रकार संगठनका केन्द्रीय सदस्य सुर्य बरालको विषेश आतिथ्यता जिल्ला सदस्य एवं अखिल (क्रान्तिकारी) का पुर्व केन्द्रीय सदस्य, पुर्व जिल्ला सेक्रेटरी प्रवेश जिल्ला तथा युवा संगठन नेपालका जिल्ला संयोजक अभय, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष राजकुमार तामाङ लगायतको आतिथ्यता रहेको थियो ।