राजनीतिक कार्यक्रमको अभावमा देश कता पुग्ने हो ?

Avatar photo
Dhadingpost
बुधबार, भदौ १६, २०७८

हाम्रो सामाजिक, राजनीतिक र आर्थिक रितिथिति योजनाबद्ध रुपमा अगाडी बढ्ने क्रमलाई नै अबरुद्ध पार्ने काम भयो । वर्षायाममा पानी पर्दा जताततै बाढीको रुपमा ओरालो पट्टी पानी अनियन्त्रित रुपमा बगेर गएको जस्तो गरि समाज अगाडि चल्दैछ । योजनाबद्ध ढल, कुलो, बाँध, पुल बनाएर पानीलाई सिंचाई, घट्ट, कृषि, पावर हाउस आदिमा पर्यावरणीय अवस्थाको ख्याल राख्दै उपयोग गरिएको अवस्था होइन ।

शासकका घोडाको तबेलामा काम गर्ने मानिसको धाक रवाफ नै अर्को हुने हाम्रो पुरानो परम्परागत कृषि अर्थतन्त्र भएको समाजमा सबैलाई सत्ताको जागिर खाने लालसाको विकास भयो । जवकी सोही अवधिमा औद्योगिक युगमा प्रवेश गरेको युरोपमा नयाँ उद्योगी बन्ने, उपयोगका वस्तुको उत्पादन गर्ने, नयाँ खोजको लालसाको विकास भयो मानिसमा । जनावरको हड्डीबाट बटन बनाउने र जिपर बनाउँने नयाँ प्रविधि खोजि गरी उत्पादन गर्ने स्विजरल्याण्डका उद्यमीले निक्कै सफलता पाएको इतिहास छ । केही नयाँ काम गर्ने हैसियत नै नभएको भए पनि मन्त्री हुँदा समाजको गन्यमान्य भइने प्रचलन पो रहेको छ नेपालमा त । अनि फेरी मन्त्री, प्रधानमन्त्री र राज्यका उच्च पदमा जिम्मेवारी पाएर केही गर्न नसक्ने मानिस पनि जीवनभर सम्मानित हुनुपर्ने प्रचलन नेपालमा स्थापित छ ।

सामान्यतः चिन्तन, बौद्धिकता, इमान्दारिता र निष्ठा नभए पनि नेता हुने प्रचलन विकासको बाधक बनेको छ । पद, शक्ति र विविध कर्तुत गरेर व्यक्तिगत धन–सम्पत्ति कमाउने मानिस नै सबै पार्टीका प्रमुख जिम्मेवारीमा छन् । केही अपवाद छन् । काभ्रेका गोविन्द उप्रेती लामो समय माननीय र मन्त्री भएका भए पनि ब्यक्तिगत सम्पत्ति कुम्ल्याउँने कर्तुतमा लागेनछन् (एउटा मिडियाले उनका बारेमा प्रसारण गरेको एउटा सामग्रीबाट थाहा भएको) । केही नेताहरु विचारवान र सिद्धान्तको कुरा गर्ने जस्ता पनि छन् तर उनीहरुले ब्यक्त गर्ने विचारलाई नियालेर हेर्दा विचारमा शिलशिला मिलेको पाइदैन ।

विरोधाभाषपूर्ण विचार, डबल स्ट्याण्डर्ड अभिब्यक्ति छ्यापछ्याप्ती भेटिन्छ । आफुले बोलेको कुराप्रति जिम्मेवार हुने भन्ने त बोध नै नभएको कुरा सबैले बुझ्न सकिन्छ । हुदाहुदै देशको लागि नेतृत्व गर्न सक्ने व्यक्तित्वका रुपमा आस गरेका युवा नेताहरुको विचार, व्यवहार र लालची स्वभाव देखेपछि मानिस निरास हुन परेको अवस्था छ ।

राणा शासनपछि नेपाली काँग्रेस र वामपंथी नेताहरुले सिद्धान्तका कुरा गरे । आप्mना सिद्धान्तप्रति निष्ठाले काम गरे । यहाँ सम्मकी पञ्चायती व्यवस्थाको समयमा पनि सिद्धान्तको विकास गरेर एकदलीय निरङ्कुश व्यवस्थालाई निरन्तरता दिने प्रयास गरिन्थ्यो । वी. पी. कोइरालाले नेपाली कांग्रेसको कार्यक्रम प्रजातान्त्रिक समाजवाद भने । उनी प्रधानमन्त्री भएका बेला सबै सरकारी कार्यालयमा हलो जोतेको किसानको फोटो राख्ने बी.पी.को काम सराहनीय मान्नुपर्छ । धर्मका विषयमा त वी. पी. को विचार अहिले आएर विचार गर्दा निक्कै व्यवहारिक रहेछ भन्ने थाहा हुन्छ ।

कम्युनिस्टहरुले भन्दै आएको रणनीतिक कार्यक्रमका रुपमा “नौलो जनवादी कार्यक्रम”लाई मदन भण्डारीले “जनताको वहुदलीय कार्यक्रम (ज.व.ज.)” भनेर सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीलाई नेतृत्व गरेका थिए । यसले कम्युनिस्ट राजनीतिमा देश विदेशमा हलचल ल्यायो । हामी त्यो बेला विद्यार्थी नै थियौं, स्वयं मदन भण्डारीले व्याख्या गर्ने ज.व.ज.को विषयमा उनकै भाषण सुन्दा जे बुझिन्थ्यो । उनको अवसानपछिका उत्तराधिकारीहरुले मूल मर्मलाई नै छोडि दिएको र विरोधा भाषपूर्ण कुरा बोल्ने गरेका छन ।

माओवादी पार्टीका नेताहरुले त ज.व.ज.लाई होच्याएरै बोल्ने गरे । आज आएर मदन भण्डारीको मृत्युपछि पार्टीको नेतृत्व सम्हालेका माधब नेपाल ज.व.ज.लाई छोडिदिने र अर्के कुरा ल्याउँने प्रयास गर्दैछन भने के.पी. ओली ज.व.ज.को कार्यक्रमका नेतृत्वकर्ता बनेको अवस्था छ । प्राज्ञिक क्षेत्र ज.व.ज.को बारेमा बोल्न सक्ने हैसियतमा नै देखिदैन, यो विजोग नेपालको रहेको छ । कुशल राजनीतिक विश्लेषकका रुपमा सकेजति भेटेजति कुराकानी सुनिरहेको सी. पी. मैनालीले ज.व.ज.को बारेमा बोलेको कुरा सुनेपछि मैनालीको पूर्वाग्रह अझैसम्म कायम रहेको भन्ने बुझ्न सकिन्छ ।

बिप्लवले नेतृत्व गरेको कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद भन्ने कुरा ल्याएको छ । प्रचण्डको के हो अहिलेको कुरा ? बाबुरामको के हो ? प्रायः धेरैले समाजवाद भन्ने गरेका छन् तर समाजवाद के हो परिभाषा आप्mना आप्mनै छन । उनीहरुले गर्ने व्यवहारिक पक्ष सबैको एउटै खालको छ ।