नलाङमा रहेकोे २०८ वर्षे दरबारको जानकारी

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २६, २०७८

धादिङ साउन २६ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ आप्री हटियामा २०८ वर्ष अघि बनेको एतिहासिक दरबार अहिले संरक्षणको पर्खाईमा रहेको छ ।

विक्रम सम्वत् १८७० सालमा जङ्ग बहादुर राणाको ठाईला ज्वाइँ दिप बहादुर शाह (जंग बहादुरकी ठाईलि छोरि दुर्गा कुमारीको श्रीमान) द्वारा निमार्ण भएको यो दरबार बारे हामीले नलाङ पात्ले माविका शिक्षक तिलक गुरुङ मार्फत जानकारी लिने प्रयत्न गरेका छौं ।

बेनीघाट रोराङको हर्कपुरमा विक्रम संवत १८६० सम्म बसेर नलाङ आएका दिप बहादुरको माईलो छोरा शमशेर बहादुरका छोरा दागजुंग शाह, शंकर शाह र बुहारीहरुको संयुक्त स्वामित्वमा रहने गरि यो दरबार बनेको थियो ।

अहिले जंग बहादुरको ठाईला ज्वाइँ दिप बहादुरका तेस्रो पुस्ता हाल दाग जुंग ,शंकर र बुहारीहरुको संयुक्त स्वामित्वमा यो जिर्ण दरबार, भान्सा घर रहेको जग्गा र बैंगैचा छ ।

दरबारमा पहिला खरको छाना थियो पछि २०१० सालमा आगलागी भए सँगैछानका पुन निर्माण गरियो र २०१८ सालमा ढुङ्गाको छाना लगाईएको दाग जुंग शाह बताउँछन् ।

यो दरबार पहिलो तल्ला २ कोठा दोस्रोमा ६ कोठा तेस्रो खुला रहेको छ । तात्कालिन समयमा काठमाडौंबाट कालिगढहरु ल्याई बनाईएको यस दरबारमा अहिले गाउँ घरमा भएका पुराना घरहरु जस्ता १० वटा घरलाई पुग्ने काठहरु छन् । अहिले दरबार प्रयोग विहिन र जिर्ण अवस्थामा छ ।

दरबारको बारे पुस्तौंको कुरा अहिले पनि जस्ताको तस्तै बताउन सक्ने दागजुंग शाह अब यो दरबारलाई स्व. दिप बहादुर शाह नाम रहनेगरी संग्रालय बनाउन हकदार सबै भाईहरु तयार रहेको बताउँछन् ।

यस विषयमा हामीले वडा अध्यक्ष कमल गुरुङलाई स्थानीय सरकारले किन ध्यान नदिएको २०८ वर्ष पुरानो दरबार भवन संंरक्षण गर्न ? स्व. दिप बहादुर शाह नाम रहने गरि संग्रालय बनाउन दिने हकवालाहरुको तयारी पनि रहेछ यस तर्फ तपाईहरुको किन ध्यान गएन भनेर प्रश्न गर्दा वडा अध्यक्ष गुरुङ भन्छन्, हामीले पहिला गाउँपालिकाको स्वमित्वमा दरबार दिनुपर्यो भनेका हौं उहाँहरुले इच्छा देखाउनु भएन अहिले संग्राहलय बनाउन दिने भन्नु भएको छ भने फेरि छलफल गर्न सकिने बताए ।