धादिङको पहिलो झोलुङ्गे पुल

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ५, २०७८

राणा प्रधानमन्त्री चन्द्रशम्शेरको समयमा थुप्रै झोलुङ्गे पुलहरुको निर्माण भएको थियो । स्कटल्याण्डको एबरडीनमा रहेको जोन एम हेन्डरसन कम्पनीबाट सामग्री मगाएर नेपालको आफ्नै इञ्जिनियर किशोर नरसिंह राणाले डिजाइनमा बनाइएको पुलहरु मध्य धादिङको आँखुखोलामा रहेको यो पुल पनि एक हो ।

उहिले काठमाडौबाट हिडेर पोखरा आउँदा यहि पुल भएर हिड्नु पर्दथ्यो । त्रिशुलीबाट हिडेर जाने बेलामा सामरी भन्ज्याङ, कटुन्जे पछि आँखुखोलाको यस पुल नाघेपछि सल्यानटार पुगिन्थ्यो । अहिलेको सुन्दरबजार नजिकै रहेको यो खोलामा अहिले आँखुखोला जलबिद्युत आयोजनाको शुरुवात भएको छ । रिङ्नेबजारमा बाँध बाँधेर जलबिद्युत उत्पादन शुरु गरेको हो ।

बि.सं. १९६० वा ७० को दशकमा नै बनेको अनुमान गरिएको यो पुलको तस्विर भने बि.सं. १९७९ तिर खिचिएको हो । श्री ३ चन्द्रशम्शेरले नेपालको इतिहास लेख्नको लागी बेलायतबाट बोलाइएका पर्सिभल ल्याण्डनको पश्चिम नेपालको भ्रमणको समय खिचिएको हो । उनि काठमाडौबाट पाल्पा, मुक्तिनाथ हुदै पोखराबाट फर्किएका थिए । यहि भ्रमणमा उनका साथ रहेका दिर्घमान चित्रकारले यो तस्विर खिचेका थिए । यसर्थ यो पुल बनेको केही समयमा नै उनले भ्रमण गरेको बुझ्न सकिन्छ ।

श्री ३ चन्द्रशम्शेरको समयमा पोखराबाट मुक्तिनाथ जाने बाटोमा पर्ने तातोपानी नजिकै पनि झोलुङ्गे पुल बनाइएको थियो ।

(यो समाचार सामाग्री हामीले Sunil Ulak को फेसबुकबाट साभार गरेका हौं -सम्पादक)