
धादिङ असार २३ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । काठमाडौं सँग जोडिएको धादिङमा जिल्ला नेतृत्वका लागि पुरानै अनुहारहरु जिल्ला सभापतिको आकांक्षीका रुपमा देखिएका छन् ।
दुई कार्यकाल जिल्ला सभाति भैसकेका रामनाथ अधिकारी, हालका जिल्ला सभापति रमेश धमला र धादिङ कांग्रेसमा सबैभन्दा बढी अन्यायमा परेका बासु तिमल्सिना रामचन्द्र प्यानलबाट जिल्ला सभापतिको आकांक्षी हुन् ।
यस्तै पूर्वमन्त्री दिलमान पाख्रिन र यस अघि जिल्ला सभापतिमा रमेश धमला सँग पराजय भएका नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना शेरबहादुर देउवा प्यानलबाट जिल्ला सभापतिको आकांक्षी हुन् ।
रामचन्द्र पौडेल प्यानलबाट आकांक्षी देखिएका ४ जना मध्य जस्ले दक्षिण धादिङका पुराना नेता हरि अधिकारीको समर्थन पाउँछ उ नै जिल्ला सभापतिको उम्मेदवार बन्ने सम्भावना छ । राजनीतिक जीवनमा कुनै पदको दावी नगर्ने तर धादिङ कांग्रेसको राजनीतिमा प्रभाव पार्न सक्ने नेता हरि अधिकारी केन्द्रित बनेको देखिन्छ धादिङको पौडेल प्यानल ।
यस्तै देउवा पक्षका मन्त्री समेत भैसकेका दिलमान पाख्रिन र भिम प्रसाद ढुङ्गाना दुबै आकांक्षी देखिए पनि उम्मेदवारी दिने दिन सम्म यी दुई जना मध्य एक चुनावी मैदानमा जाने सम्भावना रहेको स्रोत बताउँछ ।
१३ औं जिल्ला अधिवेशनमा धमलाले २ सय ९० मत प्राप्त गर्दै सभापति बनेका थिए भने उहाँको निकटतम प्रतिद्वन्दी भिमप्रसाद ढुङ्गानाले २ सय ६४ मत प्राप्तगरेका थिए ।
अहिले देउवा पक्षका पाख्रिन पूर्व मन्त्रि भएका र ढुङ्गाना सडक बोर्ड देखि नीलकण्ठ नगरपालिका प्रमुख भए सँगै स्रोत साधन र कार्यकर्ताको सम्बन्धमा बढी क्रियाशिल देखिएकोले देउवा पक्षका ढुङ्गानाले टिकट पाए भने पौडेल पक्षलाई चुनाव जित्न फलामको चिउरा चपाए सरह हुने बताईन्छ ।
यस्तो छ धादिङमा १४ औं जिल्ला अधिवेशन निर्वाचन कार्य तालिका
- साउन १२ गते वडा अधिवेशन
- साउन १६ गते पालिका अधिवेशन
- साउन २० गते प्रदेश अधिवेशन
- साउन २४ गते क्षेत्रिय अधिवेशन
- साउन २६ गते जिल्ला अधिवेशन
धादिङमा हाल १६ हजार क्रियाशिल सदस्य रहेको कांग्रेसको जिल्ला अधिवेशनका लागि २ हजार प्रतिनीधि छनौट भएर आउँछन् भने जिल्लाबाट ५० जना महाधिवेशन प्रतिनीधिहरु छनौट हुने छन् ।
विगतलाई हेर्ने हो भने ११ औँ जिल्ला अधिवेशनमा रामनाथ अधिकारी, बासु तिमिल्सेना र रमेश धमला प्रतिस्पर्धामा रहेका थिए । भने १२ औँ जिल्ला अधिवेशनमा रामनाथ अधिकारी र बासु तिमिल्सेना प्रतिस्पर्धामा रहेका थिए । दुवै अधिवेशनमा रामनाथ अधिकारीले विजय हाँसिल गरेका थिए । १३ औ अधिवेशन रमेश धमला र भिम ढुङ्गाना बीच प्रतिपर्धा हुँदा झिनो मतले धमला विजय भएका थिए ।
समाचारमा पूर्व मन्त्री दिलमान पाख्रिन हुनुपर्नेमा अन्यथा हुन गएकाेमा सच्याईएकाे छ । -सम्पादक
